• Tuesday 8th of September 2026

‘राज्यले हाम्रा सुनका असर्फी फिर्ता गर्नुपर्छ’


  • गोकर्णेश्वर अनलाइन

कनकासुन्दरी गाउँपालिका–७ द्यारपाटा गाउँ जुम्लाका ८० वर्षीय झुपलाल भन्ने नन्दलाल उपाध्याय आजसम्म पनि राज्यले आफ्ना सुनका असर्फी (सिक्का) फिर्ता नगरेको भन्दै आक्रोश व्यक्त गर्नुहुन्छ । द्यारापाटा गाउँकै झावटी नामको गडा (गह्रा)मा जोत्दै गर्दा विसं २०४३ पुसमा तीन चाँदीका बाला र ६२ सुनका असर्फी पाइएका थिए । सिञ्जा खस साम्राज्य हुँदाको समयमा तत्कालीन राजाहरुले लुकाएको धन हुनसक्ने अनुमान गरिएको सुनको असर्फी नन्दलालका भाइ धनलाल उपाध्याय र हली (गह्रा जोत्ने) जोखे कार्कीले गाउँदेखि करीब दुई घण्टा टाढा रहेको झावटी गह्रामा जोत्न जाँदा भेट्टाएका थिए । सुन पाइसकेपछि गाउँका मान्छेहरुले एकपछि अर्को गर्दै थाहा पाए । भाइ र हली दुवैले पाएको सुन गाउँका नायक मुखियाहरुले केही भाग आफूलाई दिन नन्दलाललाई आग्रह गरेका थिए । माग्नेहरुलाई आफ्नै गह्रामा पाएको सुन उहाँले दिन इन्कार गरेपछि गाउँकै उनीहरुले सुन, हार, हिरा, माला, मुकुट, मूर्ति पाएको भन्दै आफूहरुविरुद्ध प्रशासनमा उजुरी हालेको नन्दलालले राससलाई जानकारी दिनुभयो । मुद्दा हालेपछि शुरुमा आफूसहित भाइ धनलाल, बुहारी देवीकन्या उपाध्यायका साथै हली जोखे कार्की पक्राउ परेको उहाँको कथन थियो ।

त्यसपछि जार शाही, देवी सिंह, गोरखबहादुर, धनबहादुर कार्कीलगायतका व्यक्तिहरु पनि पक्राउ परेको उहाँले बताउनुभयो । प्रशासनले ती चारै जनालाई दुई÷चार दिन राखेर छाडे पनि आफूहरुले वर्ष दिनसम्म कष्ट काटेको उहाँको दुखेसो थियो । “तत्कालीन अञ्चलाधीश जगदीश खड्काको आदेशमा मसहित भाइ नन्दलाल उपाध्याय, बुहारी देवीकन्या उपाध्याय र जोखे कार्कीलाई पक्रेर लग्यो”, उहाँले भन्नुभयो, “तत्कालीन केन्द्रीय कारागार जुम्ला र क्षेत्रीय सुर्खेत गरेर एक वर्ष जेल सजाय भुक्तान गरेँ”, दुःख पोख्दै उपाध्यायले सुनाउनुभयो, “चार जनाविरुद्ध हालिएको मुद्दा जितियो तर के गर्नु मुद्दा जिते पनि अहिलेसम्म हामीले आफ्ना सुनका ५७ असर्फी पाएका छैनौँ ।” त्यसैबीच, उहाँले बिरहको गीत ओकेल्नुभयो : एक त कानु, एक त नानु (सानो) उही पनि रहेन । मेरोजस्तो घटी कर्म कसैको भएन ।। उहाँका अनुसार सुन पाउने जोत्ने हली जोखे कार्की र घरधनी धनलाल उपाध्यायको मृत्यु भइसकेको छ । यद्यपि आफूहरुले जितेको फैसला र फैसलाअनुसार पाउन नसकेको धन र क्षतिपूर्तिका विषयमा अहिलेसम्मका कुनै पनि सरकारले नबोलेको उहाँको गुनासो छ ।

प्रहरी प्रशासनमा काम गर्ने मुगु कार्कीबाडा निवासी दियप्रसादको सुराकीले आफूलाई अप्ठ्यारोमा पारेको उहाँको भनाइ थियो । भुतपूर्व सहायकमन्त्री स्व अदनसिंह कठायतले तत्कालीन पञ्चायतकालीन ऐन पल्टाएर आफूहरुलाई मुद्दा लगाएको र त्यही मुद्दाअनुरुप अञ्चलाधीशको अड्डामा ५७ सुनका असर्फी दाखिला गरिएको उपाध्यायले बताउनुभयो । जुन सुनको असर्फीहरुको अभिलेख पुरातत्व विभागमा र वसन्तपुर सङ्ग्राहलयमा राखिएको उहाँको भनाइ थियो । नन्दलाल उपाध्यायले दुखेसो पोख्दै भन्नुभयो, “आफ्नै गडा (गह्रा) मा सुन पाउनु निकै ठूलो दुर्भाग्य भयो । हामी त वास्तविक सुनधनी हौँ, लुटेरा होइनौँ । सुन पाउनु हाम्रो अपराध थिएन न त कुनै भूल नै । बिडम्बना, तत्कालीन पञ्चायती राज्यसत्ताले आफ्नै गडा (गह्रा) मा पाएको सुनका असर्फी खोसेर मात्र लिएन, जेलमै कोचेर यातनासमेत दियो ।” उहाँले अगाडि भन्नुभयो, “सुन पाउँदा अत्यधिक दुःख पाइयो । भाइ धनलाल उपाध्याय र हली जोखे कार्की त्रिपुरेश्वर काठमाडौँ जेलमा सरुवा गरेर दुःख दिइयो । मैले जुम्ला, दैलेख, सुर्खेत, पोखरा धाउनुप¥यो । खल्तीमा धन पनि रहेन । न राज्यले हामीलाई चिन्यो न त सुन पाइएको ठाउँको उत्खनन र जग्गाको उचित सुरक्षा गर्ने वातावरण मिलायो । “अन्ततः विसं २०४६ तिर मुद्दा हाम्रै पक्षमा फैसला भयो ।

उतिबेला नै फैसला हाम्रा नाममा भए पनि राज्यले हामीलाई ५७ सुनका (सिक्का) असर्फी वा त्यो बराबरको धन अहिलेसम्म फिर्ता गरेको छैन । यदि फैसलाको कार्यान्वयन नगरिए त्यही लिएर राज्यसामु पुग्ने उहाँको चेतावनी थियो । राणाकालीन, निर्दलीय पञ्चायती व्यवस्था, बहुदल हुँदै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था आए पनि आजका दिनसम्म आफूहरुले न्याय नपाएको उहाँको जिकिर थियो । तत्कालीन राज्य व्यवस्था पतन भइसकेकाले अहिलेको सरकारले आफ्ना दुःख बुझिदिनुपर्ने उहाँको आग्रह छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology