• Thursday 27th of August 2026

मेयर रिसालको कडा कदम: १६ वर्ष मुनिका बालबालिकालाई सुर्ती र मदिरा बेच्न नपाइने


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ, भदौ १०

गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका रेस्टुरेन्ट, क्याफे तथा पसलहरूमा १६ वर्ष उमेर पूरा नगरिएका बालबालिका तथा विद्यालय पोशाकमा रहेका विद्यार्थीहरूलाई धूम्रपान, मद्यपान, हुक्का, भेप तथा लागुऔषधजन्य पदार्थ बिक्री वितरण र सेवन गराउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। नगरप्रमुख दीपक कुमार रिसालद्वारा जारी गरिएको एक सूचनामार्फत उक्त निर्णय सार्वजनिक गरिएको हो।संस्थागत विद्यालय संघ नेपाल (इसान) गोकर्णेश्वर नगर कमिटीले विद्यार्थी तथा किशोरकिशोरीहरू कुलतमा फस्दै गएको भन्दै नगरपालिकालाई बुझाएको विशेष अनुरोध पत्र लगत्तै नगरप्रमुखले यो कदम चालेका हुन्। इसानले विशेषगरी शनिबार र आइतबारका सार्वजनिक बिदाका दिनहरूमा विद्यार्थीहरू क्याफे, रेस्टुरेन्ट र हुक्का बार जस्ता मनोरञ्जनका स्थानमा जाने प्रवृत्ति बढेको र यसले उनीहरूको स्वास्थ्य, शैक्षिक जीवन तथा भविष्यमा गम्भीर असर पुर्याएको भन्दै प्रभावकारी नियमनका लागि नगर प्रमुखसमक्ष माग राखेको थियो।नगरपालिकाद्वारा जारी सूचनामा रेस्टुरेन्ट तथा क्याफे व्यवसायीहरूलाई उमेर नपुगेका बालबालिका र विद्यालय पोशाकका विद्यार्थीहरूलाई यस्ता पदार्थहरू सेवन गर्न नदिन र बिक्री समेत नगर्न कडा निर्देशन दिइएको छ। आधिकारिक परिचयपत्र वा नागरिकता हेरेर मात्र उमेरको यकिन गर्न समेत सचेत गराइएको छ।नगरप्रमुख रिसालका अनुसार यो सूचना जारी भएपछि पनि कसैले नियम उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कडा कानुनी कारबाही र जरिवानाको प्रक्रिया अवलम्बन गरिनेछ। बालबालिकालाई कुलतबाट जोगाउन विद्यालयको मात्र नभई अभिभावक, स्थानीय सरकार र व्यवसायी सबैको साझा जिम्मेवारी भएकाले यस कार्यमा सहयोग गर्न नगरपालिकाले सबैमा हार्दिक अपिल गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology