• Saturday 25th of July 2026

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ सोमबार लण्डन जाने


  • गोकर्णेश्वर अनलाइन

इस्लामाबाद, २४ कात्तिक (रासस-एएनआई) — केही समयदेखि सख्त बिरामी हुनुभएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि भोलि (सोमबार) लण्डन जानुहुने भएको छ । सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उहाँलाई बेलायत जाने अनुमति दिएको हो । स्रोतले भनेको छ, “नवाज सरिफ नोभेम्बर ११ तारिख सोमबारका दिन लण्डन उड्नुहुने भएको छ ।” उहाँ यही नोभेम्बर २७ तारिखमा फर्किने समेत तय भएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीका विशेष सहयोगी नइम उल हकले सरिफको स्वास्थ्य सम्बन्धी सम्पूर्ण विवरण सरकारले अध्ययन गरेर उहाँको अवस्था नाजुक रहेको निश्कर्ष निकालेको संचारकर्मीहरुलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हरेक पाकिस्तानीले आफूले चाहेको ठाउँमा उपचार गर्न पाउनु उनीहरुको अधिकार हो, त्यसैले पूर्व प्रधानमन्त्री सरिफलाई पनि विदेश उपचारका लागि सरकारका तर्फबाट कुनै रोकतोक छैन ।” उहाँका धेरै विषय अदालतको आदेशका आधारमा हुने भएकाले उहाँ कहिले जाने र कहिले आउने भन्ने कुरा पनि त्यसैमा निर्भर हुने नइमले बताउनु भयो ।

“पूर्व प्रधानमन्त्री सरिफलाई कति पटक र कति लामो समय उपचारका लागि विदेश जान दिने भन्ने कुरा अदालतले निर्णय गर्नेछ,” उहाँले पत्रकारहरुसँग भन्नुभयो । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनु भएका सरिफ कारागारमै बिरामी भएपछि अदालतकै आदेशमा उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्वदेशकै अस्पतालमा केही दिन उपचारपछि उहाँलाई केही दिनदेखि जाटी उम्र स्थित निवासमै राखेर उपचार गरिएको छ । निवासमा उपचारका लागि उहाँलाई चिकित्सकहरुको टोली र अति विशिष्ट कक्ष (आइसियु) को व्यवस्था गरिएको थियो । पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार ६९ वर्षीय सरिफसँगै उहाँका भाइ तथा पाकिस्तान मुस्लिम लिग—नवाजका अध्यक्ष शहवाज सरिफ जानुहुने छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology