• Friday 24th of July 2026

श्रमजीवीको पक्षमा लडिरहनेछु : विष्ट


  • गोकर्णेश्वर अनलाइन

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदबाट बाहिरिए पनि देश, जनता र श्रमजीवी वर्गका पक्षमा लडिरहने प्रण गर्नुभएको छ । मन्त्री पदबाट बाहिरिएपछि मन्त्रालयमा आज आयोजित बिदाइ कार्यक्रममा उहाँले सरकार बदलिने र मन्त्रिमण्डल फेरबदल स्वभाविक प्रक्रिया भएको उल्लेख गर्दै आफू देश र जनताको पक्षमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । “जनताको पक्षमा काम गर्दा निकै ठूलो चुनौतीको सामना गर्नुपर्छ भन्नेमा म पहिल्यै जानकार थिएँ”, विष्टले भन्नुभयो, “वैदेशिक रोजगारी सुधारका साथै जनताको पक्षमा काम गर्दा ठूलो अप्ठ्यारोमा पारियो ।” उहाँले आफू श्रममन्त्रीका रूपमा कार्यरत रहँदा वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवा, पसिनाको मूल्य नपाएका श्रमिक र बेरोजगार युवाको पक्षमा इमान्दारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको बताउनुभयो । “आफू थप ऊर्जा र प्रेरणाका साथ मन्त्रीबाट बाहिरिएको छु”, उहाँले भन्नुभयो, “मन्त्रीका रूपमा काम गर्ने अवसर प्रदान गर्ने सम्माननीय प्रधानमन्त्रीप्रति कृतज्ञ छु ।”

नवनियुक्त मन्त्री रामेश्वरराय यादवलाई कार्यकाल सफलताको शुभकामना दिँदै उहाँले श्रमजीवी वर्गको पक्षमा आफूले चालेको कदम सफल हुने विश्वास व्यक्त गर्नुभयो । “बेरोजगारी, अभाव तथा गरीबीसँग लडिरहेका नेपालीलाई थोरै भए पनि राज्यका तर्फबाट सुरक्षा प्रदान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याइएको छ”, ती कार्यक्रम सफलताप्रति आशङ्का व्यक्त गर्दै उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीसम्बन्धी ठगी रोकेर न्याय दिन, यस क्षेत्रमा रहेको विकृति विसङ्गति नियन्त्रण गर्न सफल हुने विश्वास गर्दछु ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology