• Friday 24th of July 2026

भुटानी मन्त्रीले ‘हह.. माले हह…’ भनेपछि…


  • गोकर्णेश्वर अनलाइन

“तपाईं र हाम्रो भूगोल एउटै छ, रहनसहन पनि मिल्छ । मित्रता जनस्तरसम्म फैलिएको छ । यसैलाई सदुपयोग गरेर विकासको नयाँ यात्रामा अगाडि बढाँै, हामीले जानेको ज्ञान तपाईंहरुलाई दिन्छौँ, तपाईंहरुले सिकेको सीप हामीलाई सिकाउनुस्” यो भनाइ छिमेकी मुलुक भूटानका आर्थिक मामिलामन्त्री लोकनाथ शर्माको हो । नेपालीभाषी शर्मा स्वतन्त्र ऊर्जा, उत्पादकहरुको संस्था नेपाल (इपान)ले आयोजना गरेको ‘पावर समिट, २०१९’ मा भाग लिन बिहीबार नेपाल आउनुभएको हो । इपानले कार्यक्रम तालिका सार्वजनिक गर्दा नै शर्माको नाम राखेपछि पक्कै पनि उहाँ नेपाली भाषी हुनुहोला भन्ने लख काटिएको थियो । भूटानमा नेपालीभाषी अल्पसङ्ख्यक छन् । त्यही अल्पसङ्ख्यकमध्येका शर्माले भूटानको ढुकुटी हेर्ने निकायको प्रमुख हुने सौभाग्य पाउनुभएको छ । समिटमा अतिथिका रुपमा आउनुभएका शर्माले उद्घाटनको दिन मन्तव्य शुरु गर्दा नेपाली भाषामा नै ‘नमस्ते’ गर्नुभएको थियो तर उहाँले भाषण भने अङ्ग्रेजीमा नै गर्नुभयो । धेरैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जस्तै केही शब्द नेपालीमा बोलेका होलान् भनेर लख पनि काटेका थिए तर उहाँ नेपाली भाषी नै हो भन्ने कुरा कमैलाई थाहा थियो ।

राजनीतिमा लाग्नुअघि उहाँले सडक सुरक्षा र सवारी प्राधिकरणको क्षेत्रीय प्रमुख रहेर आफ्नो योग्यताको परीक्षण गर्नुभएको थियो । पछिल्ला दिनमा भूटानमा भारतीय लगानी भित्रिएको छ । जलविद्युत्का मेघा परियोजना अगाडि बढेका छन् । डुफुचेन–तेडिङ निर्वाचन क्षेत्रबाट विजयी सतचालीस वर्षीय शर्मा भूटानको राष्ट्रिय पोशाकमा सजिनुभएको थियो । शर्माको आफ्नो राष्ट्रिय पोशाकप्रतिको लगाव र नेपाली भाषीप्रतिको सम्मान साँँच्चै अनुकरणीय थियो । विश्वमा नागरिकलाई खुशी राख्ने देशहरुमध्ये भूटान अग्रपङ्क्तिमा छ । पर्यटन, कृषि उद्यममा पनि क्रमशः भूटानको नाम अन्तरराष्ट्रिय बजारमा स्थापित हुँदै गएको छ । शिक्षा, स्वास्थ्य तथा आधारभूत विषयलाई भूटानले निःशुल्क गरेको छ । रोजगारीका विविध स्रोतको खोजीमा पनि अब्बल सावित भएको छ । मन्त्री शर्माले यही मङ्सिर ५ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्नुभएको थियो । “लौ है मन्त्रीज्यू स्वागत छ”, ऊर्जा, मन्त्री पुनले भुटानी मन्त्रीको स्वागत गर्दा उहाँले पनि नेपाली शैलीमा नै ‘स्वागत छ मन्त्रीज्यू’ मात्रै भन्नुभएन, एउटा नेपालीले अर्को नेपाली भेटेको जस्तै लागेको भनी खुशी हुनुभयो । “मलाई त मेरै घरमा आएजस्तो भएको छ । असाध्यै खुसी छु” भुटानी मन्त्री शर्माको भनाइ थियो । सम्मेलनमा विश्वभरका ६०० बढी सहभागी थिए ।

त्यसमा अधिकांशजसो नेपाली नै थिए । चीन, भारत, बङ्गलादेश, नर्वे, अष्ट्रियाका प्रतिनिधि पनि सहभागी थिए तर, यस पटकको समिटको आकर्षणमा भुटानी मन्त्री शर्मा नै हुनुहुन्थ्यो । उद्घाटनसत्रको सम्बोधनलाई बिट मार्दैै भुटानी मन्त्रीले भन्नुभएको थियो, “यस उपस्थितिमा आउनुभएका मन्त्रीज्यू र माहानुभाव सबैमा म खुशी व्यक्त गर्न चाहन्छु । नेपालमा आएर धन्यवाद भन्न चाहन्छु । मलाई यो मौका दिनुभएकामा पनि सबैमा धन्यवाद ।” भुटानी मन्त्री शर्माले मन्त्री पुनसँगको शिष्टाचार भेटमा समेत आफ्नो सम्बोधनको प्रसङ्ग जोड्नुभयो र भन्नुभयो, “नेपालीमा नै कुराकानी गराँै है मन्त्रीज्यू ।” उहाँहरुबीच हालखबर र सञ्चो बिसञ्चोको सोधखोजपछि शुरु भएको औपचारिक संवादमा मन्त्री पुनले नेपालले पछिल्ला दिनमा ऊर्जा र जलस्रोतको क्षेत्रमा देखिने गरी काम गरेको र चालू आर्थिक वर्षको अन्त्यसम्म करीब एक हजार मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप हुने जानकारी दिनुभयो । “हामीले केही रणनीतिक योजनाका साथ काम शुरु गरेका छौँ । यसले आगामी दिनमा राम्रो प्रतिफल दिन्छ । भूटानले जलविद्युत्को क्षेत्रमा गरिरहेको प्रगतिबाट हामी पनि पाठ सिक्न सक्छौँ”, मन्त्री पुनको भनाइ थियो ।

नेपालका व्यवसायीले भूटानको विद्युतीकरणका लागि ट्रान्सफर्मर, प्रसारण केवलसमेत उपलब्ध गराएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीको उद्योग नेपाल इकरात इञ्जिनीयरिङले उत्पादन गरेको ट्रान्सफर्मरको उच्च माग छ–भूटानमा । यस विषयलाई समेत मन्त्री पुनले स्मरण गर्नुभयो । “ठूला आयोजना अगाडि बढाउँदाको अनुभव तपाईंहरुबाट हामी पनि सिक्न चाहन्छौँ, त्यसबाट हामी पनि ठूला परियोजना शुरु गर्नुपूर्व अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी लिन सक्छौँ” मन्त्री पुनले भन्नुभयो, “केही ठूला आयोजना हामी शुरु गर्दैछाँै, मन्त्रीज्यूले त्यसमा सहजीकरण गर्नुहुन्छ भन्ने मेरो विश्वास छ ।” नेपालले ऊर्जा क्षेत्रमा गरिरहेको पछिल्ला प्रगति र योजनाबद्ध प्रयासको मन्त्री शर्माले मुक्तकण्ठले प्रशंसा गर्नुभयो । “ठूला परियोजना आफैँमा एउटा विश्वविद्यालयजस्तो हुँदोरहेछ, काम गर्दै जाने, सिक्दै जाने नै हुँदोरहेछ । हामीले त्यही गरिरहेका छौं । हामीले पनि १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राख्याँै, जमीनसँग खेल्दै गर्दा अनेकन जटिलता आउँदोरहेछ, हामीले ५० प्रतिशत मात्रै लक्ष्य पूरा गर्न सकेका छौँ” आफ्नो वस्तुगत यर्थाथताबारे मन्त्री शर्माले जानकारी दिनुभयो ।

“भौगोलिक कठिनाइ त्यस्तै, प्राविधिक जटिलता त्यस्तै, तर काम भएन भनेर हरेश खानुहुन्न भन्ने हामीले सिकेका छाँै । दुई हजार ३०० मेगावाट क्षमताको परियोजना सकिन लागेको छ । राजधानी थिम्पु नजिकै दुई ठूला परियोजना सकिन लागेको छ । काम गर्दै सिक्दै जाने विषय नै महत्वपूर्ण रहेछ” उहाँले आफ्नो अनुभव मात्रै सुनाउनु भएन, काम गर्दाका जटिलता पनि उल्लेख गर्नुभयो । दुई हजार ५०० मेगावाट क्षमताको सुनकोश नामक परियोजना शुरु गर्न लागेको र त्यो परियोजनामा आफैँमा महत्वाकाङ्क्षी रहेको मन्त्री शर्माको भनाइ थियो । भूटानको कूल जलविद्युत् क्षमता ३० हजार मेगावाट रहेको छ । आर्थिकरूपमा सम्भाव्य आयोजनाको क्षमता भने २३ हजार ७६० मेगावाट छ । भूटानले १०२० मेगावाट क्षमताको ताला, ३३६ मेगावाटको चुखा, १२६ मेगावाटको दागचुुखालगायतका परियोजना सञ्चालन गरिरहेको छ । भूटानको जलविद्युत् आयोजना निर्माणका लागि भारतीय कम्पनीले ७० प्रतिशत ऋण र ३० प्रतिशत अनुदान दिएका छन् । विद्युत् खरीददर भने परियोजना सम्झौता भएपछि मात्रै तोकिनेछ । अन्तरसरकारी सम्झौताका आधारमा भूटान र भारत सरकारले लगानी गरेका छन् ।

सामान्यतया चार रुपैयाँ १२ पैसा भारतीय मुद्रामा भूटानले भारतले विद्युत् बिक्री गरेको छ । आयोजनाको लागत र समय हेरेर खरीददर तय हुन्छ, मन्त्री शर्माको भनाइ थियो । दक्षिण एशियाको पावरहाउस नेपाल र भूटान बन्न सक्ने मन्त्री शर्माको भनाइ थियो । “हामीसँग स्रोत छन्, त्यसलाई सदुपयोग गराँै, त्यसबाट हामीलाई त लाभ हासिल हुन्छ नै त्यसबाट समग्र दक्षिण एशियालाई समेत लाभ हासिल हुनसक्छ”, मन्त्री शर्माले भन्नुभयो । मन्त्री पुनले समेत दक्षिण एशियामा विशेषगरी भारत, बङ्गलादेश, म्यान्माजस्ता देशसँग साझा हित र चासोका साथ सँगसँगै काम गर्न भुटानी मन्त्रीलाई आग्रह गर्नुभयो । विश्वव्यापीरूपमा नै दक्षिण एशिया आर्थिक केन्द्रको रूपमा विकसित हुँदै गएको सन्दर्भमा त्यसले थप ऊर्जाको स्रोत खोज्ने अवस्था छ । नेपालमा आगामी तीन वर्षभित्र सबैको घरमा ऊर्जाको स्रोत पु¥याउने सरकारको लक्ष्य छ । तर भूटानमा मात्रै दुई हजार घरधुरीमा विद्युत् पु¥याउन बाँकी छ । भूटान सरकारले घरायसी ग्राहकलाई १०० युनिट विद्युत् निःशुल्क दिएको छ । यस्तै अवस्था हेरेर २०० युनिटसम्म निःशुल्क दिने गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

विद्युत् उत्पादनभन्दा प्रसारण तथा वितरण शुल्क बढी लाग्ने समस्याले आफूहरुलाई पनि पिरोलेको मन्त्री शर्माले यर्थाथता सुनाउनुभयो । साना तथा मझौला आयोजना अब आफैँ र आफ्नै लगानीमा शुरु गर्न लागेको जानकारी दिँदै मन्त्री शर्माले भन्नुभयो, “मेगा प्रोजेक्टमा विदेशी लगानी पनि जरुरी छ, तर आफ्नै पनि केही गरौँ भनेर लागेका छाँै ।” ठूला परियोजनाको अनुभव हासिल गर्न उहाँले मन्त्री पुन र नेपाली अधिकारीलाई भूटान भ्रमणको निम्तोसमेत दिनुभयो । नेपालका तर्फबाट मन्त्री पुनले भूटानले ऊर्जाको क्षेत्रमा गरेको प्रगतिका लागि बधाई दिँदै नेपाली उत्पादन र नेपाल–भारत–बङ्गलादेशका बीचमा बन्न सक्ने पावर ग्रिडबारे चर्चा गर्नुभयो । भूटान र नेपालको भौगर्भिक अवस्था उस्तै रहेको र ऊर्जा उत्पादनमा समान समस्या झेल्नुपरेको भन्दै दुई देशबीचको सम्बन्धलाई थप परिस्कृत बनाउनुपर्ने बताउनुभयो । नेपाल र भूटान दुवै देशको विकासका लागि ऊर्जामा लगानी बढाउनुपर्ने र ऊर्जाको क्षेत्रीय व्यापारमा सहजीकरण गर्नुपर्नेमा मन्त्री पुनको भनाइ थियो ।

भूटानको राजश्वको मुख्य स्रोत नै जलविद्युत् रहेको भन्दै भारतको सहयोगमा जलविद्युत विकासमा सफलता मिलेको भन्दै आर्थिक विकास र समृद्धिको प्रमुख आधार नै ऊर्जा भएको भुटानी मन्त्रीको जोड थियो । भूटानको भूबनोटका कारण कृषि क्षेत्र आधुनिकीकरण हुन नसकेको भन्दै मन्त्री शर्माले संवादको अन्तिममा ठट्टा गर्दै भन्नुभयो, “नेपाल कृषिको आधुनिकीकरणको दिशामा गएको छ । त्यो मेरो जानकारीमा पनि छ । तपार्इंहरुको प्रयास सह्रानीय छ, हाम्रो त उही गोरु नै धपाएर हह..माले हह.. मालेमा नै छौँ ।” उहाँले नेपाल सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न भूटानको साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology