• Friday 24th of July 2026

खुटिया र बिपीनगरदेखि ताक्लाकोटसम्मको सडक खण्ड पहिलो प्राथमिकताः मुख्यमन्त्री भट्ट


  • गोकर्णेश्वर अनलाइन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खुटिया र बिपीनगर हुँदै बझाङको ताक्लाकोट जोड्ने सडक प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । ताक्लाकोट सडक पु¥याउन सके मानसरोवर क्षेत्रमा आउने पर्यटकका कारण यहाँको विकास हुनसक्ने उहाँले बताउनुभयो । डोटीको जोरायल गाउँपालिका–५ मा रहेको महेन्द्र आधारभूत विद्यालयको ५८औँ वार्षिकोत्सवमा मुख्यमन्त्री भट्टले कैलालीको खुटियादेखि डोटीको दिपायल जोड्ने सडक अहिले बिपीनगरदेखि गड्सेरासम्म जोडिएको र केही समयभित्र बाँकी रहेको भागमा समेत जोडिने बताउनुभयोे । उहाँले भन्नुभयो, “बिपीनगर, गड्सेरासम्म सडक जोडिसकेका छौँ, केही दिनमा बाँकी रहेको कामपनि पूरा हुनेछ, विकासका लागि केन्द्र सरकारको भरमा परेर अब सुदूरपश्चिम सरकार अल्मलिने छैन् ।” मुख्यमन्त्री भट्टले डोटीको जोरायलदेखि गड्सेरा जोड्ने सडकमा यो आर्थिक वर्षमा कुल रु ७७ करोड बजेट विनियोजन गरिएकाले उक्त सडक चाँडै गड्सेरा जोडिएर कालोपत्रको काम सुरु हुने जानकारी दिनुभयो ।

समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि प्रदेश सरकार लागिपरेको उहाँले भन्नुभयो, “सुदूरपश्चिमको विकासका लागि प्रदेश सरकार खप्तडसहित अन्य पर्यटन क्षेत्रको विकास, सडक सञ्जाल विस्तारमा जुटेको छ । हामी आफ्नै लगानीमा यहाँको विकासका काम गर्नेछौँ ।” एक प्रसङ्गमा मुख्यमन्त्री भट्टले सरकारी कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरी सरकारी विद्यालयमा अनिवार्य पढाउनुपर्ने बताउँदै भन्नुभयो, “म मुख्यमन्त्री हुँ, मैले छोरा छोरी राम्रो नाम चलेको निजी स्कुलमा पढाउन सक्थें तर मेरा छोराछोरी सरकारी स्कुलमा छन्, अब यो प्रदेशका सबै सरकारी कर्मचारीका छोराछोरी पनि सरकारी स्कुलमा पढाउनुपर्छ ।” कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले महेन्द्र आधारभूत विद्यालयको पढाइदेखि अन्य भौतिक पूर्वाधार विकासका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक भानुभक्त थापाले विद्यालयको स्तरोउन्नतिका लागि विभिन्न मागसहितको ज्ञापनपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology