• Saturday 25th of July 2026

ब्लक उद्योगबाट मनग्य आम्दानी


  • गोकर्णेश्वर अनलाइन

– पेमा लामा विदेशमा तीन वर्ष काम गरेर फर्कनुभएका सिन्धुली घ्याङलेक गाउँपालिका वडा नं ३ का सन्तबहादुर श्रेष्ठ यतिबेला बनेपास्थित नयाँबस्तीमा ब्लक उद्योगमा काम गर्दै आइरहनुभएको छ । मलेशियामा श्रमका लागि जानुभएका उहाँले त्यसरी नै खटेर काम गर्नसकेमा नेपालमा नै बसेर काम गर्न सकिने भन्दै घर फर्केपछि काम खोज्न थालेको र अहिले बनेपामा दुई वर्षदेखि ब्लक उद्योगमा काम गरिरहेको बताउनुभयो । त्यसअघि घरको प्लास्टर गर्ने काममा लाग्नुभएका उहाँले कामकै सिलसिलामा सिन्धुलीबाट बनेपा आएर परिवारसहित सो काममा व्यस्त रहेको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “त्यतिको खटेर काम गरेको खण्डमा यही बसेर कमाउन सकिन्छ, अहिले महिनाको रु २०–२५ हजार कमाउँछु ।” “विदेशमा पनि कमाउने त आखिर उही हो, यता बस्यो भने परिवारसँगै बसेर सबै कुरामा साथ र सहयोग गरेर बस्न पाइन्छ, त्यसैले विदेशमा भन्दा यही ठिक छ”, श्रेष्ठले थप्नुभयो, “विदेश जाँदा यता के भयो कस्तो भयो होला भन्ने पीर हुन्थ्यो, अहिले त्यो सोच्नुपरेको छैन, सँगै बसेर सँगसँगै काम गर्दै आइरहेका छौँ ।”

उहाँसँगै सो ब्लक उद्योगमा काम गर्ने बनेपा नगरपालिका– १० का कामदार कृष्ण श्रेष्ठले पनि त्यसरी काम गरेर महिनाको २० देखि २५ हजारसम्म कमाउने गरेको बताउनुभयो । “काम गर्न गाह्रो छ, तर पनि कमाउनका लागि काम त गर्नैप¥यो”, उहाँले भन्नुभयो, “पहिला घरमा रङ लगाउने काम गरेको थिएँ, अहिले यो काम गर्न थालेको एक वर्ष भयो ।” एक बोरा सिमेन्टबाट साना ठूला आकार हेरेर ८० देखि ८५ वटासम्म ब्लक बनाउन सकिने उहाँको भनाइ थियो । एक बोरा सिमेन्ट बराबर ५०० रुपैयाँ पाउने गरेको उहाँले बताउनुभयो । मागका आधारमा काम सबै ठेक्कामा गर्ने गरेको उहाँको भनाइ थियो । उहाँ अहिले श्रीमान् र श्रीमती दुवै जनाले सो काम गरेको बताउनुहुन्छ । ब्लक उद्योग सञ्चालक काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका वडा नं १ स्थायी घर भएका डम्बरबहादुर घिसिङले बनेपामा ब्लक उद्योग सञ्चालन गरेपछि अहिले सात जनाले काम पाएका छन् । राम्रो आम्दानी गर्दै आउनुभएका उहाँले बनेपा नगरपालिका वडा नं ९ नयाँबस्तीमा विगत तीन वर्ष अगाडिदेखि सञ्चालन गर्दै आएको लक्ष्मी क्वालिटी ब्लक उद्योगमा आफूसँगै अरु सात जनाले रोजगारी दिँदै आउनुभएको छ ।

सो उद्योगबाट मागअनुसार विभिन्न खाले ब्लक बनाएर बिक्री गर्दै आएको उहाँले बताउनुभयो । फुटपाथ, पार्किङ, बगैँचा र होटलको आँगनका लागि धेरैजसो माग आउने गरेको उहाँको भनाइ थियो । “उद्योगमा नै आउने माग अनुसारको ब्लक बनाउने गरेका छौँ”, घिसिङले भन्नुभयो, “काभ्रे, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर र ललितपुरलगायतका जिल्लाबाट मा आउने गरेको छ ।” डेढ लाख रुपैयाँमा शुरु गर्नुभएको उहाँले अहिलेसम्ममा करीब रु ४५ लाखजति कमाइसक्नुभएको छ । विशेष गरेर काठमाडौँ बजार भएकाले अब त्यतै बढी केन्द्रित गरी उत्पादन र बजारीकरणलाई जोड दिनेगरी काम भइरहेको उहाँले बताउनुभयो । शुरुमा घर निर्माण गर्ने काममा मिस्त्री काम गरेको र त्यसपछि ठेक्कापट्टाको काममा लाग्नुभएको उहाँले आफैँ काम गर्न नसक्ने र मान्छेलाई लगाउँदा भनेजस्तो आम्दानी नभएपछि सो काम छोडेर ब्लक बनाउने उद्योग खोलेको बताउनुभयो । पहिला डेढ रोपनी जग्गा भाडामा लिएर थालनी गरेको उद्योग तीन÷चार महिना अगाडिदेखि अर्को साढे तीन रोपनी जग्गा भाडामा लिएर काम गर्दै आइरहनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology