• Sunday 26th of July 2026

सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको सङ्ख्या १६


  • गोकर्णेश्वर अनलाइन

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत छ किलोमा मङ्सिर २९ गते भएको बस दुर्घटनामा मृतकको सङ्ख्या १६ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भई काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचाररत जिल्लाको बलेफी गाउँपालिका–३ निवासी सात वर्षीया आशिका तामाङको गएराति मृत्यु भएपछि मृतकको सङ्ख्या १६ पुगेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उपचारका क्रममा मृत्यु भएकी बालिकाको आमाको ह्याम्स अस्पताल र बाबुको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते १८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा बाँच्न सफल छ महिने बालिकाको अभिभावक अझै सम्पर्कमा नआएकाले खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालको रेखदेखमा राखिएको छ । बालिकाकी आमा सुनिता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बस चालक सुमन तामाङ फरार रहेकाले बालिकालाई अस्पतालको रेखदेखमा राखिएको हो ।

बालिकालाई चाँडै नै अभिभावकको खोजी गरी जिम्मा लगाइने प्रनाउ काफ्लेले बताउनुभयो । दोलखाको कालिञ्चोकबाट भक्तपुरका लागि छुटेको बा४ख ४४६८ नंको रिजर्भ बस सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमै १२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology