–सुशीला रेग्मी प्रकृतिले धेरै सुन्दरता दिए पनि आन्तरिक फोहरमैलाको व्यवस्थापन नहुनु पाल्पाको रामपुर नगरपालिकाका लागि चुनौतीको विषय बनेको छ । प्रकृति र संस्कृतिको बरदानजस्तै बनेको रामपुरमा फोहरमैला सङ्कलन गरेर नगरपालिकाले राम्रो आम्दानी गर्न सक्ने भए पनि उचित व्यवस्थापन नहुँदा फोहर मोहरमा परिणत हुन त परै जाओस् दिनप्रतिदिन प्रदूषण बढ्दै जाने चिन्ता थपिएको छ । रामपुरको मुख्य बजार बेझाड क्षेत्र हो । बेझाड बजारका अलावा विजयपुर, किसानवारी बजार, इस्लामपुर क्षेत्रमा निस्कने फोहर नगरपालिकाले व्यवस्थापन गर्न नसक्दा वातावरण प्रदूषण बढिरहेको छ । बेझाड बजार क्षेत्रमा निस्कने फोहरमैला रामपुर नगरपालिकाको प्राङ्गणमा नै फाल्ने गरिएको छ । बेझाड बजार क्षेत्रबाट शनिबारबाहेक हरेक दिन टिपरमा सङ्कलन गरेर ल्याइएको फोहरमैला नगरपालिकाको प्राङ्गणमा नै फालिने गरिएको छ । यसले यहाँ दुर्गन्ध बढाएको छ ।
रामपुरमा हुने ठूला–ठूला महत्वपूर्ण कार्यक्रम यही गरिन्छ नै फोहरमैला फालिएको ठाउँ नजिकै राधाकृष्ण मन्दिर, शिवालय मन्दिर रहेका छन् । बेझाड बजार क्षेत्रमा जनघनत्व बढी रहेकाले यहाँ दैनिक तीन टिपर जति फोहरमैला निस्कने गर्छ । बेझाडको मुख्य बजारचोक, बाङ्गेपसल, सहकारी पथ, नहर अफिस, हुलाक पेट्रोलपम्प, बसपार्क, स्कूलरोड, रामपुर आवासीय बोर्डिङ, भूपू बोर्डिङ, होटल श्रीनगरसम्म घर– घरमा पुगेर टिपरमार्फत सङ्कलन गरिएका फोहोरजन्य सामग्री नगरपालिका परिसरमा फाल्ने काम भइरहेको छ । मासिक एक घरधुरीबाट रु एक सय शुल्क लिएर फोहर सङ्कलन गर्ने काम भइरहेको बेझाड बजार फोहरमैला व्यवस्थापन समिति संयोजक तथा रामपुर नगरपालिका–५ का सदस्य काशीनाथ रेग्मी बताउनुहुन्छ । यहाँ ५५० घरधुरीको फोहर सङ्कलन गर्ने काम भइरहेको उहाँले बताउनुभयो । मासिक करीब रु ५० हजार जति आम्दानी हुने गरेको छ । फोहरमैला सङ्कलनबाट उठेको रकम फोहरमैला व्यवस्थापनका लागि आवश्यक सामग्री खरीद, तीन कर्मचारीलाई तलबमा खर्च हुने गरेको उहाँले राससलाई जानकारी दिनुभयो ।
बजार क्षेत्र नजिकै मन्दिर परिसर, नगरपालिका परिसर नजिकै फोहरमैला फ्याँक्ने कार्यले रामपुरको वातावरणमा प्रभाव पारेको बजारवासी दुर्गाप्रसाद पोखरेल बताउनुहुन्छ । “नगरपालिकामा सेवा लिन जाँदा, मन्दिरमा जाँदा फोहर गन्हाएर दुर्गन्ध फैलने गरेको छ, वर्षौदेखिको फोहरमैलाको समस्या नगरपालिकाले अहिलेसम्म व्यवस्थापन गर्न नसक्दा यसले वातावरणमा प्रतिकूल असर पारिरहेको छ”, उहाँले भन्नुभयो । नगरपालिका आफैँले फोहर व्यवस्थापन गर्नु त परै जाओस् आफ्नै प्राङ्गणमा फोहर फालेर आफैं टुलुटुलु हेरेर बसिरहेको उहाँले बताउनुभयो । फोहरमैला फालिएको बाटो भएर नगरपालिका कार्यालय, मालपोत र नापी कार्यालयमा सेवा लिन जाने नागरिक मुख थुनेर हिँड्नुपर्ने अवस्था रहेको बेझाड बजार व्यवस्थापन समितिका अध्यक्ष विनोद श्रेष्ठ बताउनुहुन्छ । सफा र सुन्दर नगरको परिकल्पना बोकेको रामपुर नगरपालिकाको पहिलो प्राथमिकता फोहरमैला व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो । नगरपालिकाभित्र निस्कने फोहरमैला व्यवस्थापनका लागि विस २०७१ मा रामपुर नगरपालिका–४ को गाबुडाँडामा २५ रोपनी जग्गा लिइएको छ ।
त्यहाँका केही स्थानीयवासीको असमझदारीका कारण फोहरमैला व्यवस्थापनको काम अगाडि बढ्न सकेको छैन । विजयपुर बजार क्षेत्रमा निस्केका फोहरमैला सम्बन्धित घरधनी आफँैले व्यवस्थापन गर्दै आइरहेका छन् । किसानबारी बजार क्षेत्रमा निस्कने फोहरमैला बजार व्यवस्थापन समितिले निश्चित ठाउँमा सङ्कलन गरी व्यवस्थापन गर्दै आइरहेको अध्यक्ष गिरीराज अधिकारी बताउनुहुन्छ । “बजारबाट निस्कने फोहरमैला थोरै पर लगेर एकै ठाउँमा खाल्डो खनेर पुर्ने काम गरिएको छ, आफ्ना घर–घरमा निस्कने फोहर व्यवस्थापन गर्न अनुरोध गरिएको छ र नियमितरूपमा फोहर घरधनीले उठाउने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो । केही वर्षअघि रामपुर साना शहरी खानेपानी आयोजनाबाट फोहरमैला व्यवस्थापन शीर्षकमा आएको रु एक करोड रकम काम गर्न नसकेर ‘फ्रिज’ भएर गएको नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपाने बताउनुहुन्छ ।
“फोहर व्यवस्थापनका विषयमा नगरपालिकामा पटक–पटक छलफल भइरहेको छ, नगरपालिकाले वर्षेनी बजेट विनियोजन गरे पनि व्यवस्थापन गर्न नसकिएको अवस्था छ”, उहाँले भन्नुभयो । सफा सुन्दर नगरपालिका रहनुपर्छ तर व्यवस्थापन गर्न नसक्दा दुर्गन्ध बढेको, रामपुरको मुटुको बेझाड बजारमै फोहर यत्रतत्र छरिएको देख्दा समग्रमा रामपुरमा नराम्रो प्रभाव पारिरहेको नगर प्रवक्ता न्यौपाने स्वीकार्नुहुन्छ ।
