• Saturday 25th of July 2026

अण्डा बेचेर मासिक चार लाख


  • गोकर्णेश्वर अनलाइन

–रामबहादुर थापा बागलुङ नगरपालिका–१३ पैयुँपाटा, डाँडाथरस्थित ‘बलेवा बहुउद्देश्यीय व्यावसायिक कृषि एन्ड पोल्ट्री फार्म उद्योग’मा अहिले चार हजार ६०० ‘लेयर्स’ जातका कुखुरा छन् । कुखुराले दैनिक चार हजार अण्डा दिन्छ । अण्डा बेच्दा मासिक रु १२ लाखको कारोबार हुन्छ । एउटा अण्डाको मुल्य रु दश पर्छ । एक पेटी अण्डा रु दुई हजार १०० मा बिक्री हुन्छ । “महिनामा चार लाखभन्दा बढी कमाई छ, लगानीअनुसार त यो थोरै हो”, ‘फार्म’का सञ्चालक प्रकाश सुवेदी रखालले भन्नुभयो । आम्दानीको झण्डै रु आठ लाख दाना र कर्मचारीको तलबमा जान्छ । फार्ममा चार कर्मचारी काम गर्छन् । रखालले ‘पोल्ट्री फार्म’ व्यवसाय शुरु गरेको तीन वर्ष बित्यो । उहाँका अनुसार हाल लगानी बढेर रु एक करोड ८० लाख पुगेको छ । रखालले फार्मकै लागि १२ रोपनी जग्गा जोड्नुभएको छ । शुरुमा उहाँले एक हजार कुखुराबाट व्यवसाय शुरु गर्नुभएको थियो । दोस्रो वर्ष दुई हजार २०० कुखुरा थप्नुभयो । यो वर्ष गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट प्राप्त रु नौ लाख अनुदानबाट एक हजार ५०० कुखुरा थपेको रखालको भनाइ छ ।

फार्ममा उत्पादित अण्डा धवलागिरि क्षेत्रका बजारमा पुग्छ । “मुस्ताङसम्म हाम्रो अण्डा जान्छ”, रखालले भन्नुभयो, “कहिलेकाहीँ बजार खोज्दै हिँड्नुपर्ने अवस्था आउँछ ।” फार्मको लक्ष्य वार्षिक नौ लाख गोटा अण्डा उत्पादन गर्नेछ । उत्पादन बढ्दा वार्षिक रु ४१ लाख आम्दानी पुग्ने देखिन्छ । “व्यवसायलाई विस्तार गर्ने सोचमा छौँ, थप अनुदानलगायत प्राविधिक सहयोगको खाँचो छ”, रखालले भन्नुभयो । पोल्ट्री फार्मले चर्चेको पाँच रोपनीबाहेकको जग्गामा व्यावसायिक तरकारी खेती शुरु गरिएको छ । तरकारी खेतीका लागि सिँचाइको अभाव झेल्नुपरेको रखालका दाजु कृष्णप्रसादले बताउनुभयो । “पाँचवटा टनेलमा गोलभेँडा, आलु लगाएका छौँ”, उहाँले भन्नुभयो, “जग्गा, मल जति पनि छ, बरु पानीकै समस्या छ ।” सिँचाइका लागि कतैबाट अनुदान पाए ट्याङ्की बनाउने योजना रहेको उहाँको भनाइ थियो । व्यवसायमा रखाल दाजुभाइ नै आबद्ध छन् । परिवारका सदस्यले पनि उत्तिकै सघाउँछन् । बागलुङ सदरमुकाममा सौर्य ऊर्जासम्बन्धी व्यवसाय गर्दै आउनुभएका कृष्णप्रसाद गाउँ फर्केर कृषि उद्यममा लाग्नुभएको हो । उहाँका भाइ प्रकाश पनि विगत १२ वर्षदेखि पैयुँपाटामै व्यवसाय गर्दै आउनुभएको छ ।

“पहिले म भिडियो र फोटोग्राफीको काम गर्थे, अहिले यता छु, रेमिट्यान्स व्यवसाय पनि छ”, प्रकाशले भन्नुभयो । स्वदेशमै उद्यमी बन्ने सोचले व्यवसायतिर लागेको उहाँको भनाइ थियो । सरकारको युवा स्वरोजगार कार्यक्रमअन्तर्गत एभरेष्ट बैंकमार्फत रु एक करोड सहुलियत दरको कृषि कर्जा पाएपछि रखाल दाजुभाइको व्यावसायिक योजनाले मूर्त रुप लिएको हो । उक्त कार्यक्रमअन्तर्गत वार्षिक ब्याजको आधा रकम सरकारले बैंकलाई चुक्ता गर्छ । “बैंकले दिएको सहुलियत दरको ऋणले व्यवसाय गर्ने सपना पूरा भयो”, प्रकाशले भन्नुभयो, “सहकारीदेखि वित्तीय सङ्घसंस्थाबाट पनि ठूलो सहयोग मिल्यो ।” गाउँमै ठूलो लगानीमा व्यवसाय शुरु गरेपछि उहाँलाई स्थानीय उमाकान्त प्रतिष्ठानलगायतका सङ्घसंस्थाले सम्मानसमेत गरेका छन् । पछिल्लो समय ‘पोल्ट्री’ व्यवसाय बढ्दै गएपछि बागलुङ अण्डामा आत्मनिर्भर छ । जिल्लामा दैनिक करिब एक लाख अण्डा उत्पादन भइरहेको व्यवसायी बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology