• Sunday 26th of July 2026

अनधिकृत राखिएको पोस्टर हटाइँदै


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा राखिएको पोस्टर टाँस्नेबाट कारवाहीस्वरुप रु एक लाख ७० हजार असुल गरेको छ । प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत शहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने काम गत शुक्रबारदेखि शुरु गरेको हो । विभिन्न स्थानमा नियम विपरीत राखिएको पर्चा र सामग्री हटाउने क्रममा कामपाले कारवाहीस्वरुप सो रकम असुल गरेको हो । शहरको सौन्दर्य बिगार्नेमा सबैभन्दा बढी तीनकुने, बानेश्वर, पुतली सडक, थापाथलीलगायत स्थानमा बढिरहेको छ । कामपाले आगामी एक महिनामा सक्नेगरी हरेक दिन चार टोली खटाएर प्रचार सामग्री हटाउने कार्य गरिरहेको छ । बबरमहल, तीनकुने र कालीमाटी क्षेत्रका ठूला बोर्ड हटाइएको नगर प्रहरी महाशाखा प्रमुख एवं नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भित्तेलेखन, खम्बा र भित्तामा टाँसिएका पर्चा, पम्प्लेट, ब्यानरलगायत शहरलाई कुरूप बनाउने सबै सामग्री हटाउँदैछौँ, शहरलाई सुन्दर बनाउन होर्डिङ बोर्ड मात्र व्यवस्थापन गरेर पुग्दैन, भित्तेलेखन, पर्चा, पोष्टर, पम्प्लेट सबै हटाउनुपर्छ ।” शहरी दृश्य प्रदूषण हटाउन परमादेशको माग गर्दै सर्वोच्च जानुभएका अधिवक्ता पदमबहादुर श्रेष्ठ भन्नुहुन्छ, “महानगरको रेकर्ड भएका प्रचार सामग्रीलाई विधिअनुसार व्यवस्थापन गर्नुपर्छ, अभिलेखमा नआएका बिजुलीको पोल, भित्ता तथा अन्य सार्वजनिक ठाउँ वा सार्वजनिक ठाउँबाट देखिने ठाउँका सबै प्रकारका प्रचार सामग्री हटाउनुपर्छ । भित्ते लेखनलगायत शहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने कामलाई महानगरले सोमबारबाट कम्तीमा तीन वटा टोली बनाएर महानगरभरि नै परिचालन गर्ने भएको छ । ‘नेपाल पर्यटन वर्ष २०२०’ लाई लक्षित गरेर शहर सुन्दर बनाउने अभियानलाई कामपाले तीव्रता दिएको हो ।

गत बिहीबार मात्रै गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा कामपा प्रमुख विद्यासुन्दर शाक्यसहित बसेको बैठकले सरोकारवाला निकायका अधिकारीबीच शहरी सुन्दरता कायम गर्ने काममा सघाउ पुरयाउन सबै पक्षलाई आग्रह गरिएको थियो । नियमअनुसार सार्वजनिकस्थान, छिमेकीलाई असर पर्ने गरी, घरको छत र झ्याल ढोका छोपेर विज्ञापन राख्न पाइदैन । यी नियमलाई आधार मान्ने हो भने उपत्यकामा राखिएका अधिकांश प्रचार सामग्री नियम बाहिर हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology