• Monday 27th of July 2026

कोशीमा स्नान गर्न आउनेको घुइँचो


  • गोकर्णेश्वर अनलाइन

हरेक वर्ष शुक्ल पूर्णिमा अर्थात पुसे पूर्णिका अवसरमा सप्तरीको कोशीको जलासयमा नुहाएर आज भव्यताका साथ मनाइँदैछ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा आज बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेको घुइँचो लागेको छ । कोशी ब्यारेजमा सप्तरी, सिरहा, सुनसरी, मोरङ, भारतको बिहार राज्यको पूर्णिया, लौकही, मधुवनी, फारबिसगञ्ज, अररिया, रतनपुरालगायतका स्थानबाट स्नान गर्न आउने गरेका स्थानीय बासिन्दा बताउँछन् । यस वर्षसमेत कोशी ब्यारेजमा स्नान गर्न तथा मेला भर्न सर्वसाधारणको उपस्थिति भएको स्थानीय बिन्देश्वर माझीले जानकारी दिनुभयो । बिहानैदेखि बैलगाडा, बस, म्याजिक, मोटरसाइकल, रिक्सा, इ–रिक्सा, साइकलसहितका अन्य सवारी साधनबाट मेला भर्न तथा कोशी स्नानका लागि सर्वसाधारण आइरहेका उहाँले बताउनुभयो । कृषि मेलाका रूपमा समेत चिनिने यो एकदिने मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीको खरीद बिक्रीका लागि यहाँ महत्वपूर्ण मानिन्छ । यस अतिरिक्त सप्तरीको हनुमाननगर, इटहरी विष्णुपुर, मेगजिन चुरिया, पथरी, झनकट्टा, मलकोरलगायतका स्थानमा समेत मेला लागेको छ ।

पुस शुक्ल पूर्णिमाका दिन कोशी स्नान गरेपछि पापबाट मुक्ति पाउने तथा गङ्गास्नान गरेसरह पुण्य मिल्ने जनविश्वास छ । यहाँ बिहानै कोशीलगायतका जलासयमा नुहाएर मिठोचोखो खाने चलन रहँदै आएको छ । पुसे पूर्णिमामा लाग्ने ठूलो मेलाका लागि कोशी ब्यारेजमा भव्य तयारी गर्नुका साथै भम्रण वर्ष २०२० का लागि आन्तरिक तथा बाहिरका पर्यटक भित्र्याउनका लागि विभिन्न स्थानमा रमाइलो तथा आकर्षित वस्तु राखिएका छन् । मेलामा कुनै किसिमको अप्रिय घटना हुन नदिन सुरक्षा ब्यवस्थामा समेत कडाइ गरिएको मेला समितिले जनाएको छ । पूर्वपश्चिम राजमार्गको मुख्य सडकमै पर्ने कोशी ब्यारेजमा हुनाले कोशी मेलामा सुरक्षित एवं सहज तरिकाले मेला गर्ने उद्देश्यले व्यवस्थित गर्न ट्राफिक प्रहरी पनि परिचालन गरिएको जनाइएको छ । कोशी नदीलाई कौशिका माताका रूपमा पूजा गर्ने चलनअनुसार यस दिन कोशीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने विश्वास रहिआएको छ । यस दिन जाशयमा स्नान गरेर भुजा, चिउरा, पुरी, तरकारी, जेरीसहितका मिठाइ खाने गरिन्छ । यद्यपि पछिल्लो समयमा माछा, मासु खानेहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।

मेला भर्ना विशेषगरी भारदहस्थित कोशी ब्यारेज, ओद्राहास्थित मेगरिन चुरिया, वैरवाको मलकौर र जगतपुरको झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुरलगायतका स्थानमा सर्वसाधारणको भीड लाग्ने गर्दछ । सप्तरीका हनुमाननगर कङ्कालिनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, रुपनी गाउँपालिका र विष्णुपुर गाउँपालिकाले आज एक दिनका लागि बिदा दिएको हो । तीनै स्थानीय तहले बिहीबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै पुसे पूर्णिमाका अवसरमा बिदा दिने निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology