• Saturday 29th of February 2020
Gokarneshwor Online

Advertisment

SKIP THIS

पुड्केको जुक्ति…


  • गोकर्णेश्वर अनलाइन
  • बिहि, माघ २, २०७६

–नारायण ढुङ्गाना अघिल्लो वर्ष चन्द्रमान श्रेष्ठको रातेसँग शिव ढकाल ‘झ्टे’ले किन्नुभएको पुड्के (गोरुको नाम) प्रतिस्पर्धामा उत्रियो । उसले रातेविरुद्ध सहजै जीत हासिल ग¥यो । ढकालले पुड्केलाई नजिकैको कुमार अधिकारीबाट खरिद गर्नुभएको थियो । लगत्तै फ्याक्सेका लाल श्रेष्ठले खरिद गर्नुभयो । पुड्के गाउँ कटेपछि तारकेश्वर गाउँपालिका–३ जोरचौताराका कुमार अधिकारीको मन कुँडियो । विगतमा खान्की पु¥याउन नसकेर बेचेपनि पुड्केलाई पुनः घर फर्काउनुभयो । “एक त ज्ञानी, अर्काे माघे सङ्क्रान्तिको प्रतिस्पर्धामा अब्बल, नल्याई भो”, मुस्कुराउँदै उहाँले भन्नुभयो । कुमारले अरु बेला खनजोतमा प्रयोग गरे पनि तीन महिनादेखि पुड्केको पालनपोषणमै समय खर्चिनुभयो । छ वर्षको पुड्के हेर्दा सानो गाँठीको भए पनि कसिलो जुरो र मोटो सिङ छ । पहेँलोको जोडी बालखैदेखि चामल, घ्यू, नौनी, अण्डा खान्थ्यो । खेती कमाइ नियमित दिँदै आएको छ । बाबुसँगै छोरा श्यामसुन्दर उसकै स्याहारसुसारमा लाग्नुहुन्थ्यो । अन्ततः उहाँहरुको प्रयास खेर गएन । यसपालि बुधबार नुवाकोटको तारुकामा भएको प्रतिस्पर्धामा हक्वाँ.. हक्वाँ गर्दै पुडके आयो । एक छिन खुट्टाले जमिन खोस्रयो, जमिनमै सिंगौरी खेल्यो । रातमाटे धुलोमा रुमल्लियो । लगत्तै आयो लाले । विकास भण्डारीको लालेसँग ऊ सात मिनेट भिड्यो ।

भिडन्त अवधिभर घमासान भयो । लाले जब्बर थियो । पुष्ट, मोटो अनि सर्लक्क परेको जीउ देख्दा लालेले हार्छ भन्ने दर्शकले सोचेकै थिएनन् । बेलाबेलामा पुड्केले काँध दिन्थ्यो । दर्शक अब पुड्केले हार्न लाग्यो भन्थे । हुटिङ आउँथ्यो । पुड्केका मालिक कुमार हरेस नखाई मैदानमै हुनुहुन्थ्यो । उसको जुक्ति र दाउ उहाँलाई प्रष्ट थाहा थियो । अधिकारीले भन्नुभयो, “थर्काउन उसले काँध(आड) दिन्छ, जित्न कला चाहिन्छ, बल भएर हुँदैन, सिङले भेटेन भने थुतुनाले उधिनेर पाखा लगाउँछ, घुमीघुमी सबै उपाए अपनाउँछ, पुड्केमा यही विशेषता छ ।” उहाँले गोरुको हारजित सामान्य भए पनि पुड्के हार्ने गोरु नभएको प्रतिक्रिया दिनुभयो । “ज्यान सानो छ तर ‘पावरदारी’ छ, अर्काेको बल धेरै थियो तर बुद्धि र शैली पुगेन, पुड्केको बुद्धि भनेको दाउ हेरेर ठाउँ हेरेर कोख्याउन सक्ने हो ।” अधिकारीले जीतपछि भन्नुभयो । उहाँकाअनुसार पुड्केले खाउञ्जेल घाँस दिने गरिएको छ । दिनमा पाथीभन्दा बढी अनाज खान्छ । गोरु जुधाउन श्यामसुन्दर पनि आउनुभएको थियो । परिवारको सदस्यझैँ पालिएको पुड्केले जितेपछि खुशी हुनुभएका उहाँले गोरुलाई अँगालो हालेर खुशी साट्नुभयो । बेचेको पनि फर्काएर ल्याएँ पुड्के छ वर्ष अघि गाउँकै शेरबहादुर तामाङको गोठमा जन्मियोे । चार वर्षको हुँदा कुमारले किनेर ल्याउनुभयो । पोहोर यही गोरु शिव ढकाल ‘झट्टे’ले खरिद गरी चन्द्रमान श्रेष्ठको रातेसँग भिडाउनुभयो ।

उसका सामु राते निरिह बन्यो । लगत्तै पुड्केलाई फ्याक्सेका लाल श्रेष्ठले खरिद गर्नुभयो । “पहिले घरमा खान्की दिन नसकेर पठाएँ, मनमा लहड चल्यो, दुई पटक बिक्री भएको गोरु फेरि फर्काएँ”, अधिकारीले थप्नुभयो । छोरा १७ वर्षका श्यामसुन्दरको नामबाट यसपालि बुधबार पुड्के मैदानमा गएको थियो । उहाँले भन्नुभयो, “पुड्केले भनेको मान्छ, कसैलाई हान्दैन, गुनी छ, जुध्न भने पछिपर्दैन, त्यसैले यो मेरो साथी हो ।” उहाँ पुड्केका हली पनि हुनुहुन्छ । सानै उमेरमा जोत्ने, साउने काम आफैँ गर्नुहुन्छ । तारुकामा २१ हल जुधे पुड्के र लालेसहित यसपालि नुवाकोटको तारकेश्वर गाउँपालिका–३ स्थित चन्दनीको कटरफेदमा २१ हल प्रतियोगी गोरु जुधे । एक हल अप्रतियोगी थियो । रेवती बखरेलले छ वर्षको मालेलाई पहिलोपटक सहभागी गराउनुभयो । सिउरेनीका राजकुमार श्रेष्ठको रातेसँग माले दुई मिनेट पनि टिकेन । अर्जुन भण्डारीको मृगे र नवराज ढकालको काले २४ मिनेट भिडे । अन्ततः मृगेको सामु काले निरिह बन्यो । शुरुमा घमासान लडेको विष्णु श्रेष्ठको फुर्के हीरालाल श्रेष्ठको बाबुसँग नौमिनेट भिडेर भाग्यो । केही गोरु रगताम्मे हुँदा पनि लडे । केही गोरु मैदानमा जुध्दै नजुधी फर्किए । केही गोरु मैदानमा साथी बनेर फर्किएको रोमाञ्चक क्षण देखिएको थियो ।

यहाँ देखिएको फरकफरक दृश्य हेरेर उपस्थित दर्शकले मनोरञ्जलन लिएका थिए । युवापुस्ता सेल्फी लिँदै सामाजिक सञ्जालमा ‘लाइभ’ र ‘पोष्ट’ गर्दै थिए भने बूढापाकाले वास्तवमै मनोरञ्जन लिएका थिए । मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मदनकुमार श्रेष्ठ नेपालको गौरव र तारुकाको पौरखको रुपमा रहेको गोरु जुधाउने मेला यहाँको संस्कृति नै हो भन्नुहुन्छ । ठूलो पाटोमा जुधाइन्छ गोरु चन्दनीस्थित झमबहादुर प्रधानको कटरको फेदको बारीको पाटोमा हरेक वर्ष गोरु जुधाइन्छ । दर्शक कान्ला र माथिल्लो पाटोको डाँडाभरि भरिन्छन् । स्थानीय रामजी ढुङ्गाना आफूले जान्ने भएदेखि गोरु जुधेको हेर्न कहिल्यै नछुटाएको बताउनुहुन्छ । यो गाउँको ठूलो चाड भएको उहाँको बुझाइ छ । टाढा गएका पनि गोरु जुधाई मेला हेर्न यही बेला फर्कने गरेको स्थानीयको भनाइ छ । गोरु जुधाउने पाटोसहितको जग्गा सात रोपनीको छ । बझाङ्गी राजा जय पृथ्वीबहादुर सिंह व्रतबन्ध गर्न यहाँको कोट दरबारमा आउँदा गोरु जुधाएको हेर्न मन लागेकाले त्यो बेलादेखि यहाँ गोरु जुधाई मेला थालिएको ८४ वर्षीय प्रधानले सुनाउनुभयो । उहाँले आफ्नो बारीको पाटोलाई रङ्गशाला बनाउने सोच भए पनि पैसा अभाव भएको गुनासो गर्नुभयो । यहाँ २०६३ सालपछि व्यवस्थितरुपमा गोरु जुधाउने परम्पराको थालनी गरिएको हो ।

बारीको पाटोलाई अझै व्यवस्थित बनाउने स्थानीयको सोच छ । यो मेलालाई सरकारले सहयोग गरेको छ । पशु अधिकारकर्मीबाट विरोध भइरहेको छ भन्ने जिज्ञासामा प्रधानले विरोधले केही नहुने दाबी गर्नुभयो । मिति यकिन नभए पनि एक शताब्दी अघिदेखि चली आएको गोरु जुधाउने पर्वको पशु अधिकारकर्मीले सामाजिक सञ्जालबाट विरोध गरिरहेका छन् । साहित्यकार एलवी क्षेत्रीले सामाजिक सञ्जालबाट प्रश्न गर्नुभयो, “यी ‘बुल’हरू कस्को मनोरञ्जनका लागि लड्छन् ? आफ्नो वा दर्शकको ?” पशु अधिकारकर्मी विना पन्तले गोरु जुधाइलाई नराम्रो संस्कृतिको संज्ञा दिनुभयो । तारुकाको चन्दनीमा विरोधको कुनै गुञ्जायस थिएन । गाउँगाउँबाट हजारौँ मानिस पर्व हेर्न ओइरिएका थिए । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला पनि सो प्रतियोगिता अवलोकन गर्न पुग्नुभएको थियो ।

प्रतिक्रिया
© copyright 2020 and all right reserved to gokerneshwor online Site By : SobizTrend Technology