• Monday 27th of July 2026

दोस्रो किस्ता लिने लाभग्राही एकजना पनि भएनन्


  • गोकर्णेश्वर अनलाइन

आंशिक क्षति ब्यहोरेका लाभग्राहीलाई घरको प्रवलीकरण गर्न रु एक लाख अनुदान उपलब्ध गराउँदै आए पनि नुवाकोटका पीडितले लिन बेवास्ता गरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गत रहेको अनुदान व्यस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयको अनुसार यहाँका एक हजार ५७४ प्रवलीकरण लाभग्राही रहेकामा २२ प्रतिशतले अनुदान सम्झौता गरेको र तीमध्ये पहिलो किस्ताबापत अनुदान रकम लिने २० प्रतिशतमात्र छ । आयोजनाका प्रमुख शम्भुकुमार शाहको अनुसार जिल्लामा लाभग्राहीमध्ये ३६० घरधुरीले क्षति पुगेको घरको प्रवलीकरण गर्नको लागी अनुदान सम्झौता गरेका छन् । विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पको कारण घरमा आंशिक क्षति पुगेका धनीलाई पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा सूचीकृत भएकालाई क्षतिग्रस्त घर मर्मतको लागि दुई चरणमा रु एक लाख दिने कार्यविधि भए पनि लाभग्राहीले यसतर्फ बेवास्ता जनाएको उहाँले जानकारीदिनुभयो। सम्झौता गरेका सबैले स्वतः पहिलो किस्ताबापत रु ५० हजार पाउने भए पनि ३२६ परिवारले मात्र रकम लिएको सरकारी तथ्याङ्क छ । उहाँका अनुसार पहिलो किस्ता रकम लिएकाले पनि घरको प्रवलीकरण गरेर दोस्रो किस्ताबापत थप रु ५० हजार लिन एक जनाले पनि निवेदन दिएका छैनन् ।

प्रवलीकरणमा समावेश भएका अधिकांश लाभग्राहीले असन्तुष्ट जनाएर आंशिकबाट पूर्ण लाभग्राहीमा सूचीकृत गर्न गुनासो फाराम दर्ता गराएको तथा सरकारले तोकेअनुसार प्रवलीकरण गर्न नचाहेर अनुदान रकम लिन चासो नदिएको हुनसक्ने जनाइएको छ । भूकम्पको कारण क्षति पुगेका ७७ हजार १४८ घरको प्राविधिकमार्फत सर्वेक्षण गरिएकोमा कुल लाभग्राही ७५ हजार ८२५ रहेको कार्यालयले जनाएको छ । घरको पूर्णक्षति भएकालाई सरकारले नयाँ निजी निवास निर्माण गर्नेलाई रु तीन लाख उपलब्ध गराउँदै आएको छ । प्रवलीकरणतर्फ भूकम्प प्रभावितले चासो नदिए पनि नयाँ घर बनाउनेको सङ्ख्या भने सन्तोषजनक रहेको कार्यालयका सूचना प्रविधिविज्ञ विनोद अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार भूकम्पको कारण घरको पूर्ण क्षति भएका लाभग्राहीमध्ये ७२ हजार ७९८ (९६ प्रतिशत) ले नयाँ घर बनाउन प्राधिकरणसँग सम्झौता गरेका छन् । सम्झौता गरेकामध्ये पहिलो किस्ताबापत लिएर नयाँ घर बनाउने प्रतिबद्धता जनाएकामा ६९ हजार ४२ (९१.९४ प्रतिशत) घरधुरीले तोकिएअनुसार घरको संरचना जगतहसम्मको सतह निर्माण गरेर दोस्रो किस्ता बुझिसकेका छन् ।

घर निर्माण सम्पन्न गरेर ५८ हजार ८९४ (७७.७६ प्रतिशत)ले तेस्रो किस्ताबापतको अनुदान रकम प्राप्त गरिसकेको कार्यालयले जनाएको छ । सरकारले भूकम्पको कारण घरको पूर्ण क्षति भएका लाभग्राहीलाई तोकिएको मापदण्डअनुसार नयाँ घर निर्माण गरेपश्चात राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत तीन चरणमा क्रमशः रु ५० हजार, रु एक लाख ५० हजार र रु एक लाख गरेर रु तीन लाख अनुदान उपलब्ध गराउँदै आएको छ । नुवाकोटमा भूकम्पले क्षति पुगेकामध्ये करिब ९५ प्रतिशतले भूकम्प प्रतिरोधी नयाँ घर निर्माणमा समावेश भइसकेको सरकारी तथ्याङ्क छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology