• Saturday 25th of July 2026

डच बाहनले रेल परियोजनामा १२ अर्ब युरो लगानी गर्ने


  • गोकर्णेश्वर अनलाइन

बर्लिन, १६ माघ (रासस-सिन्ह्वा) – जर्मनीको सरकारी रेल सेवा डच बाहन (डिबी) ले सन् २०२० मा रेलवे पूर्वाधार निर्माणमा करिब १२ अर्ब २० करोड युरो (करिब १३ अर्ब ४३ करोड अमेरिकी डलर) लगानी गर्ने योजना अघि सारेको छ । डिबीका पूर्वाधार निर्माण निर्देशक रोलान्ड पोफाल्लाले जर्मनीमा रेलवे सेवाको सुधारका लागि एकै वर्षमा यतिठूलो लगानी गरिएको यो पहिलो भएको बताउनुभयो । सन् २०२० मा डच बाहनले जर्मनीमा एक हजार ८०० किलोमिटर रेलवे ट्राक र एक हजार ९०० भन्दा बढी स्वीच पुनः सञ्चालनमा ल्याउने जनाएको छ । यसबाहेक, १६० वटा पुल र ८०० भन्दा बढी ट्रेन स्टेशनलाई आधुनिक बनाइने छ । डिबीले सन् २०२० का लागि मात्र दुई हजारभन्दा बढी दक्ष कामदार नियुक्त गरिने बताएको छ ।

जर्मन सरकार र डिबीबीच हालै मात्र वित्तीय लगानी सम्बन्धी सम्झौता भएको थियो । जर्मन सरकारले सन् २०३० सम्ममा जर्मन रेल सेवाको मर्मत सुधार र आधुनिकीकरणका लागि ८६ अर्ब युरो लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ । जर्मनीका अर्थमन्त्री ओलाफ सोल्जले वर्तमान सरकारले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको बताउँदै डच बाहनले रेल सेवालाई अत्याधुनिक र गुणस्तरीय बनाउन सम्पूर्ण शक्ति लगाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology