• Saturday 25th of July 2026

अमेरिकी चुनावः डेमोक्र्याटिक प्रतिद्वन्द्वीहरुको आयोवामा चुनावी अन्तिम प्रचार


  • गोकर्णेश्वर अनलाइन

एलोडी कुजिन क्लिन्टन, संयुक्तराज्य अमेरिका, २० माघ (रासस-एएफपी) – आगामी नोभेम्बरको अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई चुनौती दिने उद्देश्यले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार हुन चाहनेहरु आयोवा राज्यमा केन्द्रित भएका छन् । खासगरी आयोवा राज्यबाट पहिलो चुनावी अभियान शुरु हुने लागेकाले पनि सबैको ध्यान आयोवातर्फ केन्द्रित भएको हो । अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुन चाहने चार जना सिनेटर सोमबार राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग सम्बन्धी बहसबाट विश्राम लिएर आयोवामा चुनावी प्रचारमा जुटेका छन् । अमेरिकी माथिल्लो सदन सिनेटले ट्रम्प विरुद्ध डेमोक्र्याटिक पार्टीले ल्याएको “शक्तिको दुरुपयोग र न्यायमा अवरोध” सम्बन्धी महाभियोगमा पर्याप्त आधार प्रमाण नरहेको जनाएसँगै डेमोक्र्याटिक पार्टीका तर्फका सबै सिनेटरहरु अन्तिम मिनेटको चुनावी प्रचार अभियानका लागि आयोवा पुगेका हुन् । चुनावी सर्वेक्षणले डेमोक्र्याटिक उम्मेदवारहरुबीच राज्यमा कडा प्रतिस्पर्धा हुने देखाएको छ । मुख्य प्रतिस्पर्धी ठानिएका पूर्व उपराष्ट्रपति जो बाइडेनले यसै साता राज्यका कुनाकाप्चासम्म बसयात्रा सम्पन्न गर्नुभएको छ ।

उहाँ आयोवा राज्यमा शीर्ष स्थान हासिल गर्न सके अन्य राज्यमा चुनावी नतिजा आफ्नो पक्षमा पार्न सक्ने सोचाईमा हुनुहुन्छ । इन्डियानाका पूर्व मेयर पिट बुटिगीग पनि जो बाइडेन झैं गल्ली गल्लीमा दौडिरहनु भएको छ । बुटिगीग अहिले ७७ वर्षीय बाइडेनलाई उठाएर जोखिम मोल्ने समय होइन भन्दै पार्टीका सदस्य मतदातालाई आफूतिर आकर्षित गर्न कम्मर कसेर लाग्नु भएको छ । बाइडेन भन्दा झण्डै आधा उमेरका ३८ वर्षीय बुटिगीगले आयोवाको क्लिन्टन शहरस्थित मासोनिक टेम्पलमा शुक्रबार ठूलै जनसमूहलाई सम्बोधन गर्दै भन्नुभयो, “मेरो तर्क छ, अहिले पुराना र उमेर ढल्केका व्यक्तिलाई उठाएर जोखिम लिने समय होइन ।” नोभेम्बरको चुनावमा ट्रम्पलाई कसले चुनौती दिन्छ भनेर अहिल्यै आँकलन गर्न कठिन छ, तर पार्टीभित्र न्यून समर्थन प्राप्त गर्नेहरु सोमबार रातिको मतपरिणामसँगै बाहिरिन थाल्नेछन् । पूर्व सांसद जोन डेलानीले शुक्रबार नै उम्मेदवारी त्यागेको घोषणा गरिसक्नु भयो । अद्यापी अझै ११ जना उम्मेदवारहरू यस दौडमा रहेका छन् र धेरैले आयोवाका मतदातालाई आकर्षित गर्न र विजयी हुन खोजिरहेका छन् । यस चुनावमा राम्रो नतिजाका साथ आगामी फेब्रुअरी ११ मा न्यू ह्याम्पशायरमा हुने दोस्रो चुनावी प्रतिस्पर्धामा भाग लिने सबै उम्मेदवारको चाहना छ । मतसर्वेक्षणमा आयोवामा बाइडेन र बुटिगीगभन्दा झिनो मतान्तरले अगाडि रहनुभएका सिनेटर बर्नी स्यान्डर्स, चौथो चौथो स्थानकी प्रगतिशील सेनेटर एलिजाबेथ वारेन र पाँचौं स्थानकी सिनेटर एमी क्लोबुचरले अन्तिम क्षणको चुनावी प्रचारलाई तिब्र बनाउनु भएको छ ।

दुई सातादेखि चुनावी दौडमा सिनेटरहरु प्रचारमा लाग्नु भएको छ, तर सिनेटमा महाभियोगको बहसका कारण उहाँहरुका हात बाँधिएका थिए । उहाँहरुको पक्षबाट चुनावी प्रचारमा परिवारका सदस्य, आफन्त र पार्टीका अरु सदस्य एवं सांसदहरु खटिएका छन् । तीमध्ये एक हुन् ७८ वर्षे बर्नी स्यान्डर्स । उहाँ डेमोक्र्याटिक पार्टीका तर्फबाट सबैभन्दा पाका उमेरका उम्मेदवार हुनुहुन्छ, तर युवा पुस्ताको सर्वाधिक समर्थन उहाँलाई नै रहेको देखिएको छ । डेस मोइन्स नजिक शुक्रबार इन्डी रक ब्यान्ड बोन आइभरले सांगीतिक प्रस्तुति नै दिएको छ । तर त्यस कार्यक्रममा स्यान्डर्स उपस्थित हुन सक्नु भएन । वासिङ्टनबाटै फोन गरी उहाँले आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन “सकेजति कार्य गर्न” आग्रह गर्नुभएको थियो । उहाँ शनिबार सेडान र्यापिड्समा भम्पायर विकिन्डको उपस्थितिमा यस्तै कार्यक्रम गर्दै हुनुहुन्छ । अर्की उम्मेदवार वारेन पनि डेस मोइन्स शुक्रबार मात्र आइपुग्नु भयो । क्लोबुचार पनि शनिबार यस्तै कार्यक्रमहरुमा व्यस्त रहने कार्यक्रम छ । आयोवा राज्यका डेमोक्र्याटिक पार्टी आबद्ध मतदातामध्ये झण्डै आधाले आफूहरु अझै दोधारमा रहेको बताएका छन् । तीमध्येकी २१ वर्षीया विद्यार्थी स्टेफानी हल पनि हुनुहुन्छ । उहाँ बर्लिङटनमा जो बाइडेनलाई भेट्न आउनुभएको हो । उहाँले भन्नुभयो, यस पटक जो बाइडेनलाई मतदान गर्ने सोचमा छु । तर मलाई मनपर्ने अरु केही उम्मेदवार पनि हुनुहुन्छ, त्यसैले अहिल्यै केही भन्न सक्दिनँ ।

डेमोक्र्याटिक पार्टीका उम्मेदवारमध्ये विदेश नीतिमा सर्वाधिक अनुभवी जो बाइडेन नै हुनुहुन्छ । उहाँले ट्रम्पका विदेश नीतिहरुका कारण अमेरिका नै खतरामा परेको दाबी गर्दै आउनुभएको छ । बाइडेनले एक चुनावी सभामा भन्नुभयो, संयुक्तराज्य अमेरिकाको भावी राष्ट्रपतिले विभाजित मुलुक प्राप्त गर्नेछ, र विश्व अति अव्यवस्थित हुनेछ । तर उहाँका आयोवाका भाषणहरू प्रतिद्वन्द्वीहरूलाई चुप लगाउन सक्ने किसिमका थिएनन् । सन् २०२० को चुनावमा क्रान्ति वा यथार्थवादमध्ये कुन राजनीतिक दृष्टिकोण लिनु पर्दछ भन्ने कुरामा अझै विवादित छन् । आयोवाकी डेमोक्र्याटिक पार्टी अध्यक्ष ट्रोय प्राइसले मतदाताहरु एक लक्ष्यको वरिपरि एकजुट भइसकेको बताउनुभयो । “सबैको एउटै ध्येय र उद्देश्य छ, डोनाल्ड ट्रम्पलाई हराऔं,“ प्राइसले बताउनुभयो । सेवानिवृत्त ६९ वर्षीय शिक्षक प्याट कारले बुटिगीग नै ट्रम्पलाई पराजित गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । अत्यधिक पक्षधरताको आजको युगमा “बुटिगीगले अरुभन्दा केही राम्रो गरी उम्मेदवारबीच एकता कायम गर्न सक्ने” उहाँले बताउनुभयो । सेवानिवृत्त शिक्षिका क्यारोल क्लार्कले आफूले वारेनको समर्थन गर्ने बताउनुभयो । “पछिल्लो चुनावमा म हिलारी (क्लिन्टन) को समर्थक थिएँ । अहिले महिलाको समय हो, तपाइँ के भन्नुहुन्छ ?”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology