• Monday 27th of July 2026

सुनसान होली


  • गोकर्णेश्वर अनलाइन

आज फागुन शुक्लपूर्णिमा अर्थात होली पर्व मनाइने दिन तर यसवर्ष विगतका वर्षमा झै होलीको रौनक कतै देखिएन । आज होली पर्व न लोला, न रङ्ग, फिका देखिएको छ होली । यसवर्षको होली पर्वलाई केही बालबालिकाले धानेका छन् । चीनको वुहानबाट फैलिएको कारोना भाइरस (कोभिड–१९) को माहमारी विश्वभर फैलिरहेका बेलामा नेपालमा पनि यसको सङ्क्रमण फैलिन नदिन सरकारले समूहगत रुपमा होली खेल्न, पानी तथा लोला नखेल्न र जथाभावी रङ्ग नदल्न गरेको आह्वान अनुरुप होलीको रौनक हराएको छ । आज दिउँसो १२ः०० बजेसम्म भक्तपुरका मुख्य शहरदेखि काठमाडौँको बानेश्वरसम्म पुग्दा पनि होलीको रौनक देखिएन । कौशल्टारमा रेडिमेड पसल सञ्चालन गर्दै आएका अनुप थापा यसवर्षको होली निकै फिका भएको बताउनुहुन्छ । यसवर्ष निर्वाध रुपमा महिला सजिलै ओहोरदोहोर गरिरहेका, कतै लोला हान्ने, रङ्ग दल्ने र पानी छ््याप्ने गरेको नदेखिएको र टिसर्टसमेत बिक्री नभएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गतवर्ष होलीको दिनसम्म १५७ होलीका टिसर्ट बिक्री गरेको थिएँ, यसवर्ष बिक्री गर्न ल्याएको ३० टिसर्टमध्ये सात मात्रै बिक्री भए, त्यो पनि बच्चाको, कोरोनाले त होलीमात्रै हैन, व्यापार पनि चौपट पा¥यो ।” सरकारको आह्वानसँगै कोरोना भाइरसको सङ्क्रमणको जोखिमले मानिस आफै सचेत भएर होली खेल्न नगएका हुन् ।

विगतका वर्षमा पर्यटकसमेत होलीमा रमाउने गरे पनि यसवर्ष पर्यटकसमेत होलीमा रमाएको देखिएन । भक्तपुर दरबारस्क्वायरका पर्यटन व्यवसायी पुरुषोत्तम धौभडेल यसवर्षको होलीमा पर्यटक नआएकाले पर्यटकले होली मनाएर रमाइलो गरेको नपाइएको बताउनुहुन्छ । होलीमा पर्यटकसमेत नआउँदा पर्यटन व्यवसायसमेत सुनसान बनेको उहाँ बताउनुहुन्छ । विगतका वर्षमा साथीहरु जमघट भएर रेष्टुरेष्टमा रमाइलो गर्दै होली खेल्ने गरे पनि यसवर्ष भने परिवारसँग घरमै घाम तापेर बसेको सूर्यविनायक नगरपालिका– ३ बालकोट नयाँ बस्तीका आशिष न्यौपाने बताउनुहुन्छ । यसवर्ष छोराछोरी पनि होलीमा कतै नगएको बताउँदै अहिले रमाइलो गर्ने भन्दा पनि सचेत हुने बेला भएको बताउनुहुन्छ । कलेजका साथीसँग यसवर्ष मज्जाले होली खेल्ने एक महिना अघिदेखिको योजना रद्द गरेको बताउने कोटेश्वर जडीबुटीकी सुष्मा थापाले कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर होली खेल्ने योजना रद्द गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कक्षा १२ को जाँच आउनै लागेको छ, यसपाली साथीहरु सबै मिलेर रमाइलो गर्नुपर्छ भन्ने योजना थियो तर रोक्यांै, पहिला पनि होली खेलेकै हो, अर्को साल पनि खेलौला तर यसवर्ष होली खेलिएन ।” हरेक वर्ष फागुपूर्णिमाका दिनमा सडकभरी होली खेल्ने र कराउँदै रमाइलो गर्नेको भिडभाड देखिन्थ्यो भने यसवर्ष सडकमा होली खेल्ने जमात देखिएन । विगतका वर्षमा होलीका दिन सार्वजनिक यातायात ठप्प हुने भए पनि यस वर्ष सार्वजनिक यातायात पनि चलिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology