• Saturday 25th of July 2026

त्रिविको परीक्षा यथावत्


  • गोकर्णेश्वर अनलाइन

त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । आगामी चैत ७ गतेदेखि शुरु हुने विभिन्न विभिन्न सङ्कायका परीक्षाको तयारी परीक्षा नियन्त्रण कार्यालयले पूरा गरेको छ । “कोरोना भाइरसको अहिल्यैकै अवस्थामा परीक्षा रोकिहाल्नुपर्ने अवस्था छैन”, नियन्त्रक जोशीले भन्नुभयो, “भाइरसका कारणले मुलुकमा नै सङ्कट घोषणा गर्नुपर्ने अवस्था आयो भने सोच्नुपर्ने हुन्छ ।” त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले पनि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग त्रिविले परीक्षा सञ्चालन गर्नेबारे छलफल गर्नुभएको थियो । स्वास्थ्यमन्त्री ढकालले अहिल्यैकै अवस्थामा परीक्षा रोक्नुपर्ने अवस्था नरहेकोले त्रिविलाई यथावत् रूपमा सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।

त्रिविअन्तर्गतको स्नातकोत्तर प्रथम वर्षको आङ्शिक परीक्षा आगामी चैत ७ गतेबाट, स्नातकोत्तर तह चौथो सेमेष्टरको चैत ८ गतेदेखि, स्नातकोत्तर दोस्रो सेमेष्टरको चैत २२ गतेदेखि, शिक्षा शास्त्रको एकवर्षे विएड चैत ९ गतेदेखि, स्नातक तहको कानून सङ्कायको दोस्रो तहको परीक्षा चैत १४ गतेदेखि शुरु हुँदैछ । परीक्षा नियन्त्रक जोशीका अनुसार त्रिविले परीक्षाका लागि बिहीबारदेखि उपत्यका बाहिर प्रश्नपत्र पठाउने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसका कारणले विद्यालय तहको परीक्षा आगामी चैत ५ गतेभित्र सक्न नर्देशन दिइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology