• Saturday 25th of July 2026

आठ विद्यालयको पुनर्निर्माण हुँदै


  • गोकर्णेश्वर अनलाइन

विसं २०७२ को भूकम्पले क्षति पु-याएका बागलुङका विद्यालयको पुनर्निर्माणले चार वर्षपछि गति लिन थालेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यस वर्षको पहिलो चरणमा आठ विद्यालय तथा आठ शौचालय पुनर्निर्माण गर्न शुरु गरेको हो । आव २०७५÷७६ को पहिलो चरणमा ४० विद्यालय पुनर्निर्माण गरेको प्राधिकरणले दोस्रो चरणमा ३८ विद्यालय र २५ शौचालय पुनर्निर्माण गरिरहेको छ भने आर्थिक वर्ष २०७६÷७७ को पहिलो चरणमा चारकोठे आठ विद्यालय तथा आठ शौचालय पुनर्निर्माण गर्न थालेकोे हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गतको पुनर्निर्माण भइरहेको बागलुङमा २०७५ साल साउन १ गते शिक्षाक्षेत्रको पुनर्निर्माणलाई गति दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाई शिक्षा कार्यालयको स्थापना गरी विद्यालय पुनर्निर्माणलाई तीव्रता दिइएको छ । जिल्लामा भूकम्पबाट क्षति पु¥याएका विद्यालय भवनको पुनर्निर्माण गर्न छुट्टै कार्यालयमार्फत काम भइरहेकाले पुनर्निर्माणले गति लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ शिक्षाका कार्यालय प्रमुख मतिलाल चपाईले बताउनुभयो ।

“जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले जिल्लाका भूकम्प प्रभावित विद्यालयको मात्र पुनर्निर्माण गर्दै आएको छ”, उहाँले भन्नुभयो, “शिक्षातर्फ अहिले जिल्लामा पुनर्निर्माणले तीव्रता पाएको छ, यो आर्थिक वर्षको पहिलो चरणमा आठ विद्यालय तथा आठ शौचालय निर्माण थालिएको छ ।” उहाँले विद्यालयजस्तो संवेदनशील क्षेत्रको पुनर्निर्माणमा ढिलाइ भएका कारण छुट्टै कार्यालयबाट पुनर्निर्माण थालेकाले विद्यालय भवन निर्माणमा छिटो हुन थालेको बताउनुभयो । हाल जिल्लामा भूकम्पले क्षति पु¥याएर आर्थिक वर्ष २०७४÷७५ मा दुई चरणमा निर्माण थालिएका ७८ विद्यालयमध्ये ५३ विद्यालय निर्माणसम्पन्न भइसकेका छन् भने २५ विद्यालय निर्माणको अन्तिम चरणमा रहेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ शिक्षाका इञ्जिनीयर नवीनकुमार सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार २५ शौचालयमा १३ शौचालय निर्माणसम्पन्न भइसकेका छन् भने १२ शौचालय निर्माणको अन्तिम चरणमा छन् । गत आर्थिक वर्षमा निर्माण थालिएका ७८ मध्ये ३६ विद्यालय दुईकोठे, १० विद्यालय तीनकोठे र ३२ विद्यालय चारकोठे पुनर्निर्माणमा परेका थिए । चारकोठे भवनका लागि रु ७० लाख, तीनकोठे भवनका लागि रु ३५ र दुईकोठे भवनका लागि रु २३ लाख तथा शौचालय निर्माणका लागि रु १५ लाख बजेट विनियोजन भएको छ । पुनर्निर्माण भएका विद्यालय तथा शौचालय पूर्णरुपमा भूकम्प प्रतिरोधी र अपाङ्गमैत्रीसमेत हुने जिल्ला कार्यान्वयन एकाइले जनाएको छ । भुकम्पमा विद्यालय भवनसँगै शौचालयमा समेत क्षति पुगेको भन्दै गत वर्षबाट शौचालय समेत पुनर्निर्माण गर्न थालिएको कार्यालय प्रमुख चपाईले बताउनुभयो । बागलुङमा रहेका पाँच सय २८ विद्यालयमध्ये दुई सय १० विद्यालयको दुई हजार ३५ कोठामा भूकम्पले क्षति पु¥याएको थियो । सोमध्ये १८८ विद्यालयमा जिल्ला कार्यान्वयन एकाइले पुनर्निर्माणको कार्यक्रम पु¥याइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology