• Monday 27th of July 2026

नाष्टमा ‘स्यानेटाइजर’ तालीम


  • गोकर्णेश्वर अनलाइन

ललितपुर महानगरपालिकाको आयोजना र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को प्राविधिक सहयोगमा नाष्ट कार्यकक्षमा आजदेखि छ दिने ‘स्यानेटाइजर’ बनाउने तालीम शुरु गरिएको छ । बजारमा कोभिड –१९ को सङ्क्रमण देखिएसँगै स्यानेटाइजरको अभाव हुँदै जाँदा उक्त तालीमको आयोजना गरिएको हो । एक दिनको तालीममा १० का दरले छ दिनसम्म गरी ६० जनालाई सिकाइने नाष्टले जानकारी दिएको छ । तालीममा घरेलु सामग्री (तीनपाने) रक्सीलगायत रसायन (केमिकल) प्रयोग गरेर बनाउन सिकाइँदै छ । नाष्टका वैज्ञानिकले ७० देखि ८० प्रतिशत रक्सीको मात्रा, दुई प्रतिशत गिसिरोल, शून्य दशमलव तीन प्रतिशत हाइड्रोजन पेरोअक्साइड र १८ प्रतिशत डिस्टिल वाटर प्रयोग गरेर स्यानेटाइजर निर्माण गरिसकेको र यसैअनुरुप सिकाइने नाष्टका वरिष्ठ वैज्ञानिक सजनलाल स्याउलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मानिसले इथानोल अल्कोहलको ठाउँमा मिथानोल अल्कोहल प्रयोग गरेभने यसले सिधै ज्यान लिन्छ, हामीले विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुरुपको स्यानेटाइजर निर्माण गरी यसै अनुरुप सिकाउँदै छाँैँ ।” पचहत्तरदेखि ८० प्रतिशत रक्सीको मात्रा प्रयोग गरेर निर्माण गरिएको स्यानेटाइजरले झन् बढी काम गर्ने र मानिसको हातमा रहेको भाइरसको प्रोटिङ मार्न छिट्टै सफल हुने स्याउलाले बताउनुभयो ।

नाष्टका वैज्ञानिकले बनाएका स्यानेटाइजरबाट जीवाणु (ब्याक्टेरिया), सूक्ष्मजीवाणु ( भाइरस) र ढुसी (फङ्गस) तीनैवटाबाट सङ्क्रमण फैलिन रोक्ने नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिनुभयो । वैज्ञानिकसँग स्यानेटाइजर निर्माण गर्न सिकेर घरघरमा गई सिकाउन वडा नं २४ का वडाध्यक्ष दिनेश कार्कीले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाभित्रका जनताले अब बजारमा स्यानेटाइजरको अभाव हुन दिने छैनन् भन्ने विश्वास लिएको छु ।” नाष्टले बनाएको स्यानेटाइजरबाट छदेखि आठ सेकेन्डमै सूक्ष्मजीवाणु मार्न सफल हुने बताइएको छ । नेपालमा कोभिड–१९ को महामारी नफैलियोस् भनी आफूहरुले पूर्वसावधानीका साथ कार्यक्रम सञ्चालन गरेको वडा नं १२ का वडाध्यक्ष नारायणलाल अवालेले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय रक्सीबाट स्यानेटाइजर निर्माण हुन्छ भन्दैमा जथाभावी रुपमा बनाउने कोसिस नगर्नुहोस्, यसले मानिसलाई झन् क्षति पु¥याउँछ ।” महानगरवासीले स्यानेटाइजर निर्माण गर्न सिकेसँगै उक्त औषघि साबुनपानीको विकल्पका रुपमा पनि प्रयोग गर्न सकिने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology