• Tuesday 8th of September 2026

प्रदेश–२ मा एसइई परीक्षाको तयारी पूरा


  • गोकर्णेश्वर अनलाइन

प्रदेश २ को आठवटै जिल्लामा आउँदो चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । अघिल्लो वर्ष प्रदेश–२ मा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि यसवर्ष सुरक्षा व्यवस्था अति कडा पारिने निर्देशनालयका निर्देशक चुडामणि फुयाँलले बताउनुभयो । रासससँगको कुराकानीमा उहाँले भन्नुभयो,“प्रश्नपत्र भण्डारण गर्ने ठाउँ सुरक्षा घेराभित्र रहने, टिनको बाकसभित्र प्रश्नपत्र राखिने तथा त्यसको साँचो सम्बन्धित जिल्लाका सुरक्षा प्रमुखसँग रहने व्यवस्था मिलाइएको छ ।” निर्देशक फुयाँलले उत्तरपुस्तिका प्रदेश नम्बर–२ का सबै परीक्षा केन्द्रमा पुगिसकेको छ भने प्रश्नपत्रहरु आजदेखि परीक्षा केन्द्रमा रहेका सुरक्षा निकायको जिम्मा लगाउने बताउनुभयो । यसवर्ष प्रदेश–२ को आठ जिल्लामा ७२ हजार ८३९ परीक्षार्थी सहभागी हुनेछन् । आठवटै जिल्लामा २६७ परीक्षा केन्द्र तोकिएको छ, यसवर्ष सबैभन्दा बढी धनुषाबाट ११ हजार ३९३ र सबैभन्दा कम रौतहटबाट सात हजार ७०५ परीक्षार्थीहरुको सहभागिता रहने छ ।

प्रदेश–२ को राजधानी जनकपुरस्थित शिक्षा विकास निर्देशनालयका अनुसार यसवर्ष सप्तरीबाट नौ हजार १४० सिराहाबाट १० हजार १३१, धनुषाबाट ११ हजार ३९३, महोत्तरीबाट आठ हजार ३२९, सर्लाहीबाट १० हजार ५८, बाराबाट आठ हजार २४, रौतहटबाट सात हजार ७०५ र पर्साबाट आठ हजार ५९ परीक्षार्थीको सहभागिता रहने छ । यसैगरी सप्तरीमा ३४, सिराहामा ३९, धनुषामा ४३ , महोत्तरीमा ३०, सर्लाहीमा ३५, रौतहटमा ३०, बारामा ३२ र पर्सामा २४ परीक्षाकेन्द्र तोकिएको छ । यसवर्षको एसइई परीक्षालाई मर्यादित बनाउन सबै परीक्षाकेन्द्रलाई पत्राचार गरिएको छ र कुनै केन्द्रले अमर्यादितरुपमा परीक्षा सञ्चालन गरेको पाइएमा त्यस्ता केन्द्रका केन्द्राध्यक्ष र परीक्षा केन्द्रमा खटिने कर्मचारीलाई कडा कारवाही गरिने निर्देशनालयले जनाएको छ । अघिल्लो वर्ष परीक्षा अगावै दुई विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेश–२ मा २ विषयको पुनःपरीक्षा लिइएको थियो । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको विरोधमा प्रदेश–२ मा विद्यार्थीले प्रदर्शन गर्दै सार्वजनिक सम्पत्ति तोडफोड समेत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology