• Monday 27th of July 2026

नेकपाका कार्यकर्ताद्वारा श्रमदान गरेर सडक मर्मत


  • गोकर्णेश्वर अनलाइन

रघुगङ्गा गाउँपालिका–१ बादुकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले श्रमदान गरेर सडक मर्मत गरेका छन् । तीन महिने सङ्गठन सुदृढीकरण तथा जनसम्बन्ध सुधार अभियानअन्तर्गत बेगको वडा कमिटीको आयोजनामा शुक्रबार बादुकको टिम्मुरे खोल्सा भन्ने ठाउँमा श्रमदान गरेर सडक मर्मत गरेको नेकपा गाउँपालिका कमिटीका सचिव हरि भण्डारीले जानकारी दिनुभयो । वडा कमिटीका अध्यक्ष नरसिंह पुनको नेतृत्वमा जिल्ला सदस्य भूपेन्द्र शेरपुञ्जा, सचिव बालकुमार गर्बुजा, नेता वीरबहादुर तिलिजा लगायतको उपस्थितिमा दिनभर श्रमदान गरिएको थियो । दश ग्यावियन जाली भर्न र ढुङ्गा ओसार्न २४ नेता कार्यकर्ता खटिनुभएको थियो । तीनमहिने अभियानका क्रममा नेकपाले सबै स्थानीय तह र वडास्तरमा पहिलो चरणमा बैठक सम्पन्न गरिसकेको छ ।

चैत १ गतेदेखि शुरु भएको अभियानमार्फत पार्टी सदस्यता नविकरण, नयाँ विस्तार, प्रशिक्षण, भेला, बैठक, सरकारका कामको प्रचार, जनताका गुनासा, सुझाव, अपेक्षा बुझ्ने नेकपाले जनाएको छ । उत्पादन र श्रममा जोडिनुपर्छ भन्ने सन्देश प्रवाह गराउन सबै वडामा कम्तीमा एक दिन श्रमदानमा सहभागी हुने कार्यक्रम बनाएको गाउँपालिका कमिटी सचिव भण्डारीले बताउनुभयो । अन्य वडामा पनि श्रमदान कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology