• Monday 27th of July 2026

चीनले न्यूयोर्कका लागि १,००० थान भेन्टिलेटर सहयोग


  • गोकर्णेश्वर अनलाइन

न्यूयोर्क, २३ चैत (रासस–एपी) –– अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले चीन सरकारले कोरोनाभाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि एक हजार थान भेन्टिलेटर पठाउन लागेको शनिबार बताउनु भएको छ । गभर्नर कुमोले संकटको यस समयमा चीन सरकारको सदासयताका लागि धन्यवाद दिँदै चीनले प्रदान गर्न लागेका भेन्टिलेटर शनिबार नै अमेरिकाको केनेडी विमानस्थलमा आइपुग्ने जानकारी दिनुभयो । अमेरिकाका विभिन्न राज्यमा कोरोनाभाइरसको संक्रमण रहेको भन्दै अमेरिकामै यी सामान तत्काल प्राप्त गर्न कठिनाई भएको पनि उहाँले बताउनुभयो । “हामी सबै एउटै युद्धमा छौं । सबैले भाइरसको प्रसार रोक्ने एकमात्र उद्देश्य राखेका छौं” कुमोले भन्नुभयो । उहाँले ओरेगन राज्यले पनि न्यूयोर्कका लागि १४० थान भेन्टिलेटर पठाउने वचन दिएको बताउनुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतिपय राज्यलाई तत्काल स्वास्थ्य सामग्री आवश्यक नभए पनि ठूलो संख्यामा माग भइरहेको भन्दै दुःख प्रकट गर्नु भयो । उहाँले चीनबाट भेन्टिलेटर मगाउन आफूले नै पहिलो प्रयास गरेको जानकारी दिनुभयो ।

न्यूयोर्कका गभर्नर कुमो र आफूबीच कुनै पनि विषयमा मतान्तर नरहेको पनि राष्ट्रपति ट्रम्पले स्पष्ट गर्नु भयो । यसैगरी म्यासाचुसेट्स राज्यले पनि चीनबाट दशलाख मास्क ल्याउनुका साथै रसियाले पनि चिकित्सा उपकरण अमेरिका पठाएको छ । यसैबीच, राष्ट्रपति ट्रम्पले एन९५ सुरक्षात्मक मास्क क्यानाडा र अन्य मुलुकमा निकासमा प्रतिबन्ध लगाउने बताउनु भएको छ । संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसबाट संक्रमितको संख्या तीन लाख नाघेको छ भने ८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ३ हजार ५०० न्यूयोर्क राज्यका रहेका छन् । चीन र ओरेगन राज्यबाट भेन्टिलेटर उपलब्ध भए पनि न्यूयोर्क राज्यका गभर्नर कुमोले राज्यका निजी स्वास्थ्य संस्थाहरुलाई आफूसँग रहेका भेन्टिलेटरहरु कोरोनाभाइरसका बिरामीका लागि पनि उपलब्ध गराउन आदेश दिनु भएको छ । राष्ट्रपति ट्रम्पले संघीय सरकारले न्यूयोर्कको जाभिट्स कन्भन्सन सेन्टरमा दुई हजार ५०० शैयाको फिल्ड अस्पताल निर्माण गर्न लागेको र त्यहाँ अमेरिकी सैनिकले सेवा दिने बताउनुभयो । सेनाले सञ्चालन गर्नेगरी लुजियाना र डल्लासमा पनि यस्तै अस्पताल बनाइने राष्ट्रपति ट्रम्पले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology