काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को पहिचान, रोकथाम तथा उपचारका स्वास्थ्य सामग्री खरिद कार्यमा संलग्न युवराज शर्माले आफ्नो भूमिका ‘राज्यलाई सहयोग र समन्वय गर्ने’ मात्र रहेको जनाएका छन् ।

‘अत्यन्तै छोटो समयमा ती सामग्रीहरु खरिद गरी ल्याउने काम असम्भव जस्तै थियो । ओम्नी समुहका संचालक तुलहरि सिंह एक परिचित व्यक्ति भएकाले मेरो नातेदार उद्यमी व्यवसायी रबिन श्रेष्ठलाई खरिद प्रक्रियामा सहयोग गर्न अनुरोध गरें,’ उनले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘तत्पश्चात चीनमा व्यवसाय गर्ने मेरा नेपाली तथा चिनियाँ साथीहरुलाई सामग्री जुटाउन आवश्यक सहयोग गर्न अनुरोध गरें । देशमा सम्भावित महामारीको प्रकोप हुनुभन्दा पहिल्यै व्यवस्थापकीय तथा प्राविधिक रुपमा पूर्ण तयारी गर्नुपर्ने संकटको घडीमा मैले राज्यलाई केही सहयोग गर्न समन्वयको भूमिका मात्र निर्वाह गरेको हुँ ।’
एउटा सचेत नागरिकको हैसियतले, सही नियतले गरेको सहयोगलाई गलत ढंगले अर्थ्याइएको बताउँदै उनले ओम्नी समूहसँग यस प्रकरणसँगै विगतमा पनि विभिन्न व्यवसायिक ‘डिल’ मा आफू संलग्न नरहेको दाबी गरेका छन् । खरिद प्रक्रियामा छनोट भएको ओम्नी ग्रुपमा आफ्नो संलग्नता नरहेको पनि उनको भनाई छ ।
शर्माले यो प्रकरणबारे सत्य–तथ्य पत्ता लगाइ बाहिर ल्याउन सरकार र सम्बन्धित निकायलाई अनुरोध पनि गरेका छन् । हृवाइट हाउस कलेजका सञ्चालक तथा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपालका उपाध्यक्ष शर्माको स्वास्थ्य सामग्री खरिदमा रहेको संलग्नताबारे कान्तिपुरले विस्तृत विवरण सार्वजनिक गरेको थियो ।
शर्माले विज्ञप्तीमार्फ उच्चस्तरीय समन्वय समितिअन्तर्गत क्वारेन्टाइन व्यवस्थापन उपसमितिका संयोजक तथा पर्यटनमन्त्री योगेश भट्टराईसँग हिसानको तर्फबाट सक्रिय रुपमा काम गरेको समेत जनाएका छन् ।
‘एक/दुईपटक स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग काठमाडौंका केही अस्पताल र मेडिकल कलेजलाई विशेष क्वारेन्टाइन र आइसोलेशन केन्द्र बनाउनेबारे मन्त्रालयमा छलफल भएको हो,’ उनले भनेका छन्, ‘त्यही दौरानमा स्वास्थ्य सामग्री खरिद प्रक्रिया अगाडि बढेको र तत्काल चीनबाट खरिद गर्न ओम्नी समूह छनौट भएको थाहा भयो ।’ कान्तिपुरबाट
