• Monday 27th of July 2026

कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न महासङ्घको अपिल


  • गोकर्णेश्वर अनलाइन

नेपाल पत्रकार महासङ्घले कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न सिङ्गो सञ्चार क्षेत्रलाई अपिल गरेको छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ नियन्त्रणमा सञ्चार क्षेत्रलाई संयोजन र समन्वय गर्नका लागि महासङ्घ केन्द्रीय समिति मातहतका सबै प्रदेश समिति, एशोसिएट संस्था, सबै जिल्ला तथा प्रतिष्ठान शाखा र सदस्य साथीमा हार्दिकताका साथ अपिल गर्नुभएको हो । “सर्वप्रथम विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको र नेपालमा उच्च जोखिमको चुनौती कायमै रहेको कोरोना सङ्क्रमण नियन्त्रणका लागि अनेकौँ कठिनाइ र जोखिम मोलेर सचेतनामूलक समाचार सामग्रीका साथै सही सूचना नागरिकसामु पु¥याउने महत्वपूर्ण दायित्व बहन गर्दै आउनुभएका सम्पूर्ण पत्रकार र सञ्चारमाध्यमको उच्च प्रशंसा गर्न चाहन्छु”, विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले नेपालमा कोरोना सङ्क्रमणले एउटा चरण पार गरेको सन्दर्भ उल्लेख गर्दै चुनौती र सङ्कटपूर्ण अवस्थामा अन्य समस्या र तमाम मतभेदलाई थाति राखेर कोरोना सङ्क्रमण नियन्त्रणका लागि एउटै मिसनका साथ अघि बढ्न तीनवटै तहका सरकार, राज्यका सबै निकाय, सबै राजनीतिक दल, नागरिक सङ्घसंस्था, पेशाकर्मी, व्यवसायीलगायत सबैमा आह्वानसमेत गरेको छ । जटिल अवस्थामा पनि अनेकौँ समस्यासँग जुधेर आफूलाई निरन्तरता दिइ जोखिम मोलेर सूचना तथा समाचार सामग्री प्रवाह गरिरहेका सञ्चारमाध्यमको हकमा प्याकेजमै योजना बनाएर प्रोत्साहन गर्न तथा सबै सञ्चारमाध्यमबाट कोरोना सङ्क्रमण हुन नदिन जनचेतनामूलक सन्देश र सूचना प्रवाहका लागि सहकार्य गर्नुपर्नेमा पनि महासङ्घको जोड छ । विज्ञप्तिमा भनिएको छ, “पत्रकारिताको सबैभन्दा ठूलो क्षमताका रुपमा अफवाह नियन्त्रण गर्ने क्षमतालाई पनि लिने गरिन्छ, यतिबेला फैलने कुनै पनि अफवाहले कोरोना सङ्क्रमणभन्दा झनै ठूलो भयावह अवस्था सिर्जना गर्न सक्दछ । त्यसैले अफवाह फैलन नदिन तथा कसैले अफवाह फैलाएमा त्यसलाई तत्काल रोक्नका लागि र पुष्टि भएका एवं तथ्यमा आधारित समाचार सामग्री मात्र प्रवाह गरेर कोरोनाविरुद्धको लडाईंमा योगदान पु¥याउनका लागि समस्तमा महासङ्घ हार्दिक अपिल गर्दछ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology