• Monday 27th of July 2026

मापदण्डअनुसार राहत दिन र तस्बीर नलिन नेकपाको निर्देशन


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरले सङ्घीय सरकारले तय गरेको मापदण्डअनुसार लकडाउन प्रभावितलाई एकद्वार प्रणालीबाट राहत दिन तथा राहत दिइएको तस्बीर नलिन निर्देशन दिएको छ । नेकपा पाँचथरले मातहतका पार्टी कमिटी र नेकपाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई राहत वितरणलाई व्यवस्थित, प्रभावकारी र वास्तविक लकडाउन प्रभावितलाई सहयोगीसिद्ध बनाउन निर्देशन दिएको हो । नेकपा पाँचथरका इञ्चार्ज एवं प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार लकडाउन प्रभावित भनी स्थानीय तहबाट पहिचान भएका परिवारलाई मात्रै राहत दिन निर्देशन दिइएको छ । राहत सामग्रीसमेत सङ्घीय सरकारले तोकेको न्यूनतम मात्रा पु¥याएर मात्रै वितरण गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । स्थानीय तह र नेकपाको स्थानीय पार्टी पङ्क्तिलाई समन्वयात्मक रुपमा राहत वितरण गर्नसमेत नेकपाले निर्देशन दिएको छ । जिल्लामा फिदिम नगरपालिका र याङवरक गाउँपालिकाले मात्रै लकडाउन प्रभावितलाई राहत वितरण थालेका छन् ।

कतिपय स्थानमा व्यक्तिगत तथा संस्थागत रुपमा वितरण गरिएको राहत झारो टार्ने तथा देखावटी मात्रै भएको तथा लकडाउन प्रभावित एवं न्यून आय भएका परिवारलाई यथेष्ट सहयोग नपुगेको भनी आलोचना भएपछि नेकपाले यस्तो निर्देशन दिएको हो । नेकपाले यसअघि नै पार्टी पङ्क्तिलाई लकडाउन प्रभावितलाई राहत दिन तथा कोरोनाभाइरस सङ्क्रमण प्रतिकार्य एवं सजगताका काममा सहभागी हुन आह्वान गरिसकेको छ । “राहत वितरणको काम स्थानीय सरकार र पार्टी पङ्क्तिको दायित्वको विषय हो, न कि कुनै प्रचारवाजी”, नेकपाका जिल्ला इन्चार्ज आङ्बोले भन्नुभयो, “राहत प्राप्त गर्ने व्यक्ति तथा परिवारको सम्मानका लागि तस्बीर नलिन र सामाजिक सञ्जालमा नहाल्न भनिएको हो ।” पाँचथरमा सामाजिक दूरी पालना गर्ने नाममा वडाबाट वितरण गरिएका राहत कार्यक्रमको कतिपय तस्बीर ‘भाइरल’ समेत भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology