• Tuesday 28th of July 2026

जलविद्युत् आयोजनाको काम शुरु


  • गोकर्णेश्वर अनलाइन

कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी(लकडाउन) जारी रहँदा तनहुँ जलविद्युत् आयोजनाको काम शुरु भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले उच्च सतर्कताका साथ ठूला आयोजना सञ्चालन गर्न अनुमति दिएसँगै ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको काम सञ्चालन भएको हो । दोस्रो प्याकेजअन्तर्गतको कामको ठेक्का पाएको सिनो हाइड्रोले बिहीबारदेखि केवल टनेल खन्ने कामलाई निरन्तरता दिएको आयोजनाका साइट प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार क्याम्पभित्रै बसिरहेका मजदूरलाई परिचालन गरेर कामलाई सञ्चालन गरिएको छ । “बाहिरबाट मजदूर नल्याई क्याम्पमा उपलब्ध मजदूर परिचालन गरेर काम शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “काम गर्ने क्रममा पनि सतर्कता अपनाइएको छ ।” हाल क्याम्पमा २४ चिनियाँ तथा अन्य गरी करिब ५० श्रमिक र प्राविधिक छन् । पावर हाउसमा तारहरु लैजानका लागि १८७ मिटर सुरुङ खनिनेछ । उक्त सुरुङ खनेर सकिएपछि ‘मेन एक्सेस टनेल’ निर्माण शुरु गरिनेछ । पहिलो प्याकेजअन्तर्गतका लागि पुनः तेस्रो पटक बोलपत्र आह्वान भएका कारण उक्त प्याकेजको काममा भने ढिलाइ भएको छ ।

आयोजनाको निर्माण कम्पनी तनहुँ जलविद्युत् आयोजनाले गत वैशाख १२ गते आह्वान गरेको दोस्रो पटकको बोलपत्रमा छनोट भएका चार कम्पनीको प्राविधिक प्रस्ताव रद्द भएपछि पुनः तेस्रो पटक बोलपत्र आह्वान गरेको थियो । बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाले बोलपत्र आह्वान गर्दा १९ कम्पनीले चासो देखाए पनि चार वटा कम्पनीले बोलपत्र पेश गरेका थिए । चार वटा कम्पनीले पेश गरेको प्राविधिक प्रस्तावलाई एशियाली विकास बैङ्क (एडिबी) ले सारभूत रुपमा प्रभावग्राही हुन नसकेको भन्दै रद्द गरिदिएको थियो । उक्त कामका लागि चीनको चाइना गेजुवा गु्रप अफ कम्पनी लिमिटेड, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड, चाइना नेसनल इलेक्ट्रिक इन्जिनीयरिङ कर्पोरेसन लिमिटेड तथा सोङ डा कर्पोरेसन भियतनाम र कालिका कन्स्ट्रक्सन नेपाल जेभीले बोलपत्र पेस गरेका थिए । तेस्रो पटक आह्वान गरिएको बोलपत्रको म्याद वैशाख १ गते (१३ अप्रिल) सम्म रहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरु एशियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ ।

निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नेछ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ ।

यसमध्ये एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, इआइबीले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ७० लाख अमेरिकी डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । आयोजनाको विद्यृत्गृह निर्माणका लागि २८८ मिलियन डलर, प्रसारण लाइन तथा सवस्टेशन निर्माणका लागि १५ मिलियन डलर, ग्रामीण विद्युतीकरणका लागि आठ मिलियन डलर, जग्गा प्राप्ति तथा पुनःस्थापनाका लागि ३० मिलियन डलर, वातावरण व्यवस्थापनका लागि २१ मिलियन डलर, पूर्वाधार निर्माण तथा भन्सार एवं कर प्रयोजनका लागि ४६ मिलियन डलर, आयोजना व्यवस्थापन तथा सामुदायिक कार्यक्रमका लागि २५ मिलियन डलर खर्च हुने अनुमान छ । यसका लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र (जुन २०२४) सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology