• Tuesday 28th of July 2026

२८ किमी सडकमा लगाइयो चिन्ह


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँका सडकहरुलाई चिटिक्क बनाउने काम भइरहेको छ । सडक व्यवस्थापनको अभिन्न अङ्ग मानिने सडक चिन्ह (मार्किङ) लगाउने काम भइरहेको छ । अहिलेसम्म जिल्लाभित्र कालोपत्र थपिएको (ओभर ले) झण्डै २८ किलोमिटर सडकमा चिन्ह लगाएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । ‘लकडाउन’ का कारण सबै विकास निर्माण ठप्प हुँदा काठमाडौँका मुख्य र सहायक सडकमा चिन्ह लगाइएको हो । ती सबै स्थानमा सामाजिक दूरी कायम गरेर काम भएको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताउनुभयो । धेरै जनशक्ति र उपकरण नचाहिने हुँदा यो समयमा समेत काम गरिएको उहाँले बताउनुभयो । उपत्यकामा बालुवाटार, रामशाह पथ, सुन्धारालगायतका धेरै स्थानमा सडकमा चिन्ह लगाइएको छ । उहाँले भन्नुभयो, “सामान्य अवस्थामा सवारीसाधनको चाप बढी हुने भएपनि अहिले सडक खाली हुँदा काम गर्न पनि सजिलो भयो ।” सडकका दुबै लेनमा ‘ओभर ले’ भएका सडकमा मात्रै सडक चिन्ह लगाइएको हो ।

काठमाडौँ उपत्यकामा धेरै स्थानमा ‘ओभर ले’ को काम ‘लकडाउन’ का कारण ठप्प छन् । तीनकुने–गौशाला लगायत एकातिर काम सकिएर अर्काे लेनतर्फ गर्न बाँकी रहेकाले त्यस्ता सडकमा भने चिन्ह लगाइएको छैन । उहाँले भन्नुभयो, “अर्काे लेनमा कालोपत्र गर्दा रङ्ग जाने हुनाले अहिले नगरिएको हो ।” ‘लकडाउन’ का समयमा सडक चिन्ह लगाउने कामका कारण उपत्यकाका सडक चिटिक्क देखिएका छन् । एकातर्फ सवारीसधानको चाप कम र अर्कातिर भर्खर कालोपत्र भएका सडकमा पोतिएका सडक चिन्हले उपत्यकाको मुहार नै फेरिएको छ । ‘लकडाउन’ मा काम गर्दा कतै अवरोध आउँछ कि भन्ने अन्यौल भएपनि अहिले यो कामले धेरैको प्रशंसा पाइरहेको छ । सडक चिन्हका कारण यात्रु र चालकसँगै ट्राफिक प्रहरीलाई समेत सडक व्यवस्थापन गर्न सजिलो हुने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology