• Tuesday 28th of July 2026

लकडाउनमा महिलामाथि हुने घरेलु हिंसा बढी


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि मुलुकभर लागू गरिएको लकडाउनमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसाका घटना भएको पाइएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालित हटलाइन र मनोपरामर्शकर्तामार्फत लकडाउनपछि महिला तथा बालिकामाथि अभिलेखीकरण गरिएका घटना हेर्दा सामाजिक हिंसा, बलात्कार, आत्महत्या, दुव्र्यवहारलगायत भन्दा बढी घरेलु हिंसाका घटना देखिएका हुन् । ओरेकले सञ्चालन गरेका तीन हटलाइन र २८ जना मनोपरामर्शकर्तामार्फत १३ जिल्लाबाट लकडाउन शुरु भएदेखि ८३ वटा महिला तथा बालिकामाथि घटेका हिंसाका घटना अभिलेखीकरण गरेको छ । जसमा ४६ घरेलु हिंसा, नौ सामाजिक हिंसा, १४ बलात्कार, दुई बलात्कारको प्रयास, एक हत्या, एक हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, दुई यौन दुव्र्यवहारका घटना, छ आत्महत्या, दुई हत्याको प्रयासका घटना रहेका छन् । हिंसा गर्ने व्यक्तिमध्ये सबैभन्दा बढी ३७ श्रीमान् र १७ जना परिवारका सदस्य रहेको ओरेकले जनाएको छ ।

त्यसैगरी १९ घटनामा छिमेकी, दुई घटनामा प्रेमी ठानिएका व्यक्ति, एक घटनामा साथी, एक घटनामा घरमालिक रहेको पाइएको छ भने छ घटनामा पीडकहरुको पहिचान हुन बाँकी रहेको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिनुभयो । बलात्कारका घटना भने १० छिमकीबाट, दुई परिवारका सदस्यबाट, एक प्रेमी ठानिएका व्यक्तिबाट र एक पहिचान नखुलेको व्यक्तिबाट भएको पाइएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन हरेक व्यक्ति घरभित्रै बस्नुको विकल्प नभएको र यस्तो अवस्थामा हिंसा प्रभावित महिलाले आफूमाथि भएको हिंसालाई सहजरूपमा उजुरी गर्ने वातावरण तयार गर्न स्थानीय तह र सम्बन्धित निकायले आवश्यक सेवा सञ्चालन गर्नुपर्न ओरेकको सुझाव छ ।

साथै हाल महामारीको अवस्था छ भनेर महिलाका लागि संविधान र अन्य कानूनहरुले सुनिश्चित गरेका अधिकारलाई नकार्न नमिल्ने कार्यकारी निर्देशक न्यौपानेले बताउनुभयो । ओरेकले महामारीको अवस्थामा हिंसाका घटनालाई तत्काल सम्बोधन गर्न अल्पकालीन सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने, सबै अस्पतालमा गर्भवती र सुत्केरी महिलाका लागि आवश्यक पर्ने सेवा सञ्चालन गर्नुपर्ने, हिंसाको जोखिम न्यूनीकरणका लागि सबै क्वारेन्टाइनस्थलमा महिला, बालिका र लैङ्गिक तथा यौनिक पहिचान भएका व्यक्तिका लागि छुट्टै बस्ने व्यवस्थाका साथै छुट्टै चर्पी एवं नुहाउने ठाउँको व्यवस्था गर्नुपर्ने, गर्भवती, सुत्केरी, सानो बच्चा हुने महिला तथा ज्येष्ठ नागरिकका लागि क्वारेन्टाइनस्थलमा विशेष व्यवस्था र राहत वितरण गर्दा पौष्टिक खानेकुरालगायतका अन्य आवश्यकताको ख्याल गर्नुपर्ने सुझाव दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology