• Tuesday 28th of July 2026

भूकम्पका पाँच वर्ष : पुनःनिर्माण सुस्त


  • गोकर्णेश्वर अनलाइन

– नारायण अधिकारी विनाशकारी भूकम्प गएको पाँच वर्ष पुग्दा जिल्लामा पुनःनिर्माणको काममा आशातित प्रगति हुन सकेको छैन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले दिएको जानकारीअनुसार जिल्लामा ६६ दशमलव ९१ प्रतिशत लाभग्राहीले मात्र निजी आवास निर्माणको काम सम्पन्न गरी तेस्रो किस्तावापतको रकम भुक्तानी पाएका छन् । कार्यालयका इन्जिनीयर सुजन नेपालका अनुसार जिल्लामा रहेका सात हजार ७९७ जना लाभग्राहीमध्ये पाँच हजार २१७ जनाले तेस्रो किस्तावापतको रकम भुक्तानी लिइसकेका छन् । यस्तै दोस्रो किस्ता ७६ दशमलव ४५ प्रतिशत अर्थात् पाँच हजार ९६१ र पहिलो किस्ता ९५ दशमलव २ प्रतिशत अर्थात् सात हजार ४२३ जनाले निकासा गरेका छन् । लाभग्राहीले पहिलो किस्तावापत रु ५० हजार, दोस्रो किस्तावापत रु एक लाख ५० हजार र तेस्रो किस्तावापत रु एक लाख पाउने गर्छन् । इन्जिनीयर नेपालका अनुसार पछिल्लो समयमा भूमिहीन लाभग्राहीको हकमा वन क्षेत्रमा बस्न पाउने निर्णय र गुनासो सुनुवाइमा थप भएका लाभग्राहीका कारण पहिलो किस्ता लिनेको सङ्ख्या बढेको हो ।

सोहीअनुसार दोस्रो र तेस्रो किस्तामा प्रगति ढिला भएको उहाँले जानकारी दिनुभयो । वन क्षेत्रको सार्वजनिक जग्गामा बसोबास गरेका एक हजार ११० परिवारको अहिले पहिलो किस्ताको रकम निकासा भइरहेको जनाइएको छ । भूकम्पका कारण आंशिक रुपमा क्षति भएका घरहरुको पुनःनिर्माणको काम भने अपेक्षाकृत रुपमा हुन सकेको छैन । जिल्लामा एक हजार ३६३ जना आंशिक लाभग्राही भएको भए पनि जम्मा दुईजनाले मात्र दोस्रो किस्ताको रकम निकासा गरेका छन् । पहिलो किस्तावापतको रकम एक हजार २२९ जनाले निकासा गरेका थिए । उनीहरुले पहिलो किस्तावापत रु ५० हजार र दोस्रो किस्तावापत रु ५० हजार पाउने गर्छन् । आंशिक क्षति भएकाहरुले प्राप्त गर्ने अनुदान रकम कम भएका कारण घर मर्मतको काममा चासो नदिएको बताइएको छ । पहिलो किस्ताको रकम निकासा गरेर पनि घर नबनाई बसेका लाभग्राहीले घरको पुनःनिर्माण गर्न नचाहेका कारण आंशिक क्षतितर्फ प्रगति हुन नसकेको उहाँको भनाइ छ ।

यस्तै लाभग्राहीले पहिलो किस्तावापतको रकम फिर्ता गर्नसमेत शुरु गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एकजनाले रकम फिर्ता गरिसकेका छन् भने अन्य छजनाले रकम फिर्ता गर्नका लागि वडा कार्यालयबाट निवेदन लिएर दर्ता गराएका छन् । विसं २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकमा केन्द्रविन्दु भई विनाशकारी भूकम्प गएको थियो । भूकम्पका कारण नेपालमा करिब नौ हजार व्यक्तिले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology