प्रत्येक वर्ष वैशाख शुक्ल पक्षमा गरिने वाग्मती तीर्थ यात्रा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण स्थगित गरिएको छ । पशुपतिनाथ मन्दिरबाट शुरु भई चोभारमुनिको कटुवाल दह पुगेर त्यहाँबाट वाग्मतीको उद्गमस्थल वाग्द्वारसम्मका १०० भन्दा बढी तीर्थमा करिब दुई साता लगाएर गरिने यात्रा भाइरसको सङ्क्रमण नफैलियोेस् भनी स्थगित गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । नेमुनिको पालादेखि शुरु भएको विश्वास गरिने वाग्मती तीर्थयात्रा विसं २०३२ मा नदी फोहर भएको भनी स्थगित गरिएको थियो ।
विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि नदी केही सफा भएकाले विसं २०७५ वैशाख शुक्ल पक्षदेखि सदस्य सचिव ढकालको सक्रियतामा शुरु गरिएको थियो । यस वर्ष वाग्मती तीर्थयात्रा स्थगित गर्नुपरे पनि आगामी वर्षदेखि फेरि निरन्तरता दिइने कोषले जनाएको छ । वाग्मती तीर्थयात्रामा सयौँ मानिस सहभागी हुने परम्परा छ ।
