• Wednesday 29th of July 2026

स्यानिटाइजर उत्पादन गर्दै विश्वविद्यालय


  • गोकर्णेश्वर अनलाइन

कर्णाली प्रदेशस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्यानिटाइजर उत्पादन शुरु गरेको छ । विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्राविधिक सङ्काय केन्द्रीय क्याम्पसले स्यानिटाइजर उत्पादन शुरु गरेको हो । “अहिले सानोस्तरमा मेसिनबाट दैनिक ६० एमएलका ७३० बोत्तल उत्पादन भइरहेको छ”, विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा नन्दबहादुर सिंहले भन्नुभयो, “विश्वविद्यालयलाई उत्पादनसँग जोड्दै जाने योजनाअनुरुप पहिलो चरणमा स्यानिटाइजर उत्पादन शुरु गरिएको हो ।” निकट भविष्यमा नै त्यसलाई आइएसओ सर्टिफाइड गर्ने र बजारमा पठाउने उहाँले बताउनुभयो । “यसका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग सहकार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “हाल विश्वविद्यालयले रु एक लाख लगानी गरेर स्यानिटाइजर उत्पादन गरिरहेको छ ।” विश्वविद्यालय व्यवस्थापन सङ्कायले व्यवस्थापन गर्ने र विज्ञान तथा प्रविधि सङ्कायले उत्पादन गर्ने योजनाअनुसार थप कार्ययोजना बनाई अघि बढेको उपकुलपति प्रा डा सिंहले बताउनुभयो ।

“शिक्षालाई सीपसँग जोड्ने र उक्त सीपलाई उत्पादनसँग जोड्ने अभियानमा छौ”, उहाँले भन्नुभयो, “यसबाट हामी आर्थिक वृद्धि गर्ने गरी अघि बढ्ने योजनासमेत बनाएका छौँ ।” “आमनागरिकलाई त्रसित बनाइरहेको कोरोनाविरुद्ध लड्न स्यानिटाइजरमा आमनागरिकको सहज पहुँच अभाव देखिएकाले त्यही अभावलाई पूर्ति गर्न यसको उत्पादनमा लागेका हौँ”, उहाँले भन्नुभयो, “विश्वविद्यालयलाई उत्पादनसँग जोड्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्नेछ ।” विश्वविद्यालयलाई सर्टिफिकेट प्रदान गर्ने मात्रै नभई आत्मनिर्भर बन्नका लागि आवश्यक पर्ने सीपयुक्त दक्ष जनशक्ति निर्माण गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology