• Tuesday 28th of July 2026

‘पत्रकार उच्च जोखिमा काम गर्दै’


  • गोकर्णेश्वर अनलाइन

कोभिड–१९ सङ्क्रमण देखिएका जिल्लाका पत्रकारले स्रोतसाधन तथा स्वास्थ्य सामग्रीको अभावमा उच्च जोखिम मोलेर पत्रकारिता गरिरहेका पाइएको छ । नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिल नेपालको कोरोना सङ्क्रमित जिल्लाको संयुक्त अनुगमन पश्चात सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा बढी सङ्क्रमित रहेको उदयपुरको भुल्के क्षेत्रमा पत्रकारले आवश्यक स्वास्थ्य सामग्रीको अभावमा समाचार सङ्कलन गरिरहेका अनुगमन टोलीका संयोजक तथा महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो । नेपालमा सबैभन्दा बढी प्रदेश नं १ को उदयपुर त्यसपछि प्रदेश नं २ को पर्सा र बारामा सङ्क्रमण देखिएको छ । “पत्रकारहरुको स्वास्थ्य परीक्षणको व्यवस्था गरेको पाइएन”, प्रतिवेदनमा भनिएको छ, “पारिवारिक दबाब र सङ्क्रमणको खतरा मोल्दै जनतालाई सुसूचीत गराउने दायित्वलाई उदयपुरका सञ्ंचारकर्मीले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको अनुगमनका क्रममा पाइएको छ ।”

महासङ्घ र काउन्सिलको टोलीसमक्ष सञ्चारकर्मीहरुले आफूहरु उच्च जोखिममा रहेको, स्वास्थ्य सामग्री लगायतका स्रोतसाधनको अभाव रहेको, स्वास्थ्य परीक्षणको व्यवस्था नभएको जस्ता समस्या व्यक्त गरेका महासंघका महासचिव विष्टले जानकारी दिनुभयो । जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीलाई सरकार र सम्बन्धित सञ्चार गृहले कुनै सहुलियत नदिएको गुनासो टोली समक्ष पत्रकारहरुले गरेका प्रतिवेदनमा उल्लेख गरिएको छ । टोलीले सङ्क्रमणको त्रासदीपूर्ण अवस्थामा काम गरिरहेका पत्रकारका लागि सरकारले तत्काल राहत तथा सहुलियतको व्यवस्था गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो । स्वास्थ्य परीक्षणको व्यवस्था गर्न र स्वास्थ्य सामाग्री लगायत पूर्वसर्तकताका साधन तत्काल व्यवस्था गर्नुपर्ने निष्कर्ष टोलीको रहेको छ ।

सङ्क्रमित पुष्टि भएका जिल्लाका पत्रकारका लागि तत्काल सुरक्षित ढङ्गबाट काम गर्ने वातावरण निर्माण गर्न सरकार र सम्बन्धित निकायसमक्ष आग्रह प्रतिवेदनमा गरिएको छ । यसैगरी सञ्चार गृहहरुले पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउनुका साथै विशेष प्रोत्साहनको व्यवस्था गर्नुपर्ने देखिन्छ भने स्वास्थ्य बीमाको व्यवस्था, स्थानीय सञ्चारमाध्यमको सञ्चालनमा विशेष राहत र सहुलियतको व्यवस्था गर्नुपर्ने निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ । महासङ्घका महासचिव विष्टको नेतृत्वमा प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझा सम्मिलित टोलीले स्थानीय पत्रकारहरुसँग जिल्लाको समग्र अवस्थाका बारेमा अन्तरक्रियासमेत गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology