• Tuesday 28th of July 2026

बुद्धजयन्ती तथा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन स्थगित


  • गोकर्णेश्वर अनलाइन

बौद्धजयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलन स्थगन गरिएको छ । कोरोना भाइरस (कोभिड– १९) को जोखिमका कारण यही वैशाख २५ गते बुद्ध जन्मस्थल लुम्बिनीमा मनाइने सबै कार्यक्रम स्थगन गरिएको हो । कोरोना भाइरसको संक्रमणका कारण गरिएको बन्दाबन्दीले कार्यक्रमको तयारी गर्न नसकिने र जोखिम बढ्ने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा सबै कार्यक्रम स्थगन गरिएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिनुभयो । “विश्वमा नै कोरोना भाइरसको त्रास छ । यस अवस्थामा कार्यक्रम गर्न सम्भव नहुने भएपछि मन्त्रालयको सचिवालयले सर्कुलर गरेपछि हाललाई सबै कार्यक्रम स्थगन गरिएको छ ।” कार्यक्रम स्थगन भए पनि वैशाख २४,२५ र २६ गते लुम्बिनीमा सामाजिक दूरी कायम गरेर मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन भने गरिने प्रमुख भट्टराईले बताउनुभयो । यस वर्ष दुई हजार ५६४ औंँ बुद्धजयन्तीका अवसरमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको चिरशान्ति तथा विश्वशान्तिको कामना गर्दै बत्ती बाल्ने कार्यक्रम छ ।“

कोरोना भाइरस संक्रमणको जोखिमका कारण भीडभाड गरिने छैन, विहारका भिक्षुभिक्षुणी र केही स्थानीयवासीले विश्व शान्तिको कामना गर्दै पूजापाठ गर्नुहुने छ”, उहाँले भन्नुभयो । संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवत्र्तक सिद्धार्थ गौतमको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् । दुःख, अनित्य र अनात्मा तथा प्रतीत्यसमुत्पाद उनका मुख्य दर्शन हुन् । विसं २००८ जेठ ८ गते बुद्ध जयन्तीका दिन पहिलोपटक सार्वजनिक बिदा तथा २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । रुपन्देहीको लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाका दिनमा भएको थियो ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिनुभएका सिद्धार्थ २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभएको थियो । छ वर्षको ध्यानपछि ३५ वर्षका उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिनुभएको छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology