• Tuesday 28th of July 2026

धरहरा ३८ र रानीपोखरी ८८ प्रतिशत सम्पन्नः काम पुनसञ्चालन


  • गोकर्णेश्वर अनलाइन

कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण रोकिएको रानीपोखरी र २२ तले धरहरा पुनःनिर्माणको काम पुनः शुरु भएको छ । लकडाउनका कराण रोकिएको धरहराको निर्माण गत शनिबार र रानीपोखरीको पुनःनिर्माण आइतबारदेखि शुरु गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार सामाजिक दूरी र स्वास्थ्यलाई ध्यानमा राख्दै निर्माण पुनःसञ्चालन गरिएको हो । लकडाउनका कारण काठमाडौँमा नै रोकिएका पुराना कामदारबाट काम शुरु भएको उहाँले जानकारी दिनुभयो । धरहरा निर्माणको काम लकडाउनमा पनि केही हदसम्म भएकै थिए । पानी फाल्ने ढुङ्गा फाल्ने काम मजदूरले जारी नै राखेका थिए । “लकडाउनमा धरहरा निर्माणका साना कामहरु भइरहेका थिए तर हामीले गत शनिबारदेखि निर्माणको कार्य शुरु गरेका हौँ, लकडाउनका अवधिमा सबै कामदारहरु एकै ठाउँमा सुरक्षित रुपमा बसेका थिए”, उहाँले भन्नुभयो, “काम शुरु हुनुभन्दा अगाडि र पछाडि दैनिक थर्मल गनले शरीरको तापक्रम नाप्ने, कामदारलाई मास्क, पञ्जा, स्यानिटाइजर र ढोकामा साबुनपानी राखिएको छ ।

बाहिरका मान्छेहरु भित्र आउन दिइएको छैन भने भित्रका कामदारहरु बाहिर निस्किएका छैनन् ।” हाल धरहरा पुनःनिर्माणमा हालसम्म रु ९० करोड खर्च भई ३८ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । हाल दैनिक ४५ कामदारले धरहरा पार्किङको तेस्रो बेसमेन्टको बाल्टा बनाउने कार्य गरिरहेका छन् । टावर बनाउने अरु कामदार सप्तरीमा रोकिँदा पुनः निर्माण गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । रानीपोखरी र मन्दिरमा २० कामदार लकडाउनका कारण रोकिएको पुरातात्विक तथा धार्मिक सम्पदा रानीपोखरीको पुनःनिर्माण गत आइतबारदेखि पुनः शुरु भएको छ । काठमाडौँमा रोकिएका कामदारबाट पोखरी र मन्दिर निर्माण शुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हाल १९ जना कीर्तिपुर र काठमाडौँका स्थानीयवासीले पोखरीमा माटो राख्ने काम गरेका छन् भने सात कामदारले मन्दिर र पुलको काम शुरु गरेका छन् । उहाँका अनुसार पोखरीको ८८ तथा पुल र मन्दिरको ४२ प्रतिशत निर्माण सम्पन्न भएको छ ।

हाल मन्दिरको दोस्रो तलामा काठका खाम राख्ने र पुलमा गुम्बज बनाउने कार्य भएको छ । सौन्दर्यका लागि भक्तपुरका कामदार ल्याउन नसक्दा काम रोकिएको उहाँले जानकारी दिनुभयो । पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुरानै शैली (ग्रन्थकुट÷शिखर) मा पुनःनिर्माण गर्न गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । मन्दिर, मन्दिरसम्म जाने पुल र वरपरको बगैँचा १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी सिएरतुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको थियो । प्राधिकरणले मन्दिर निर्माणका लागि रु चौध करोड २७ हजार ५५७ मा ठेक्का र उपभोक्ता समितिमार्फत रानीपोखरीको पीँधमा कालो माटो राख्ने र वरपरका क्षेत्रमा पर्खाल लगाउने कार्यका लागि रु नौ करोड ९७ लाखमा बजेट विनियोजन गरेको छ । विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पका कारण क्षति पुगेका सम्पदाको पुनःनिर्माणको शुरुआत रानीपोखरीबाट गरिएको थियो । भूकम्प गएको १० महिनापछि अर्थात् माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणको शुभारम्भ गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology