• Tuesday 28th of July 2026

भोको पेटमा भोजनको व्यवस्था


  • गोकर्णेश्वर अनलाइन

—कृष्ण न्यौपाने तनहुँको व्यास नगरपालिका–२ र ४ मा बिहान ९ बजेपछि सर्वसाधारणको भीड लाग्छ । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइले विपन्न तथा मजदुरलाई दैनिक भोजन उपलब्ध गराउन थालेपछि खाना खाने समयमा सर्वसाधारणको भीड लाग्ने गरेको हो । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी गरिएपछि प्रभावित भएका विपन्न वर्गलाई लक्षित गरी एकाइले दैनिक खाना खुवाउने व्यवस्था मिलाएको छ । विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगमा उद्योग वाणिज्य सङ्घले बिहानको खानाको व्यवस्थापन मिलाएको एकाइका अध्यक्ष राजकुमार श्रेष्ठ (राकु) ले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दाबन्दीपछि वडा नं २ मा तीन हजार र वडा नं ४ मा ३६० जनालाई खाना खुवाइएको छ । प्रत्येक दिन बिहानको एक छाक खाना खुवाउने गरिएकामा खानाका लागि सहयोगी व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गर्ने गरेका छन् ।

विपन्न तथा मजदुरलाई खाना खुवाउँदा हालसम्म रु दुई लाख ४० हजार खर्च भइसकेको छ भने रु एक लाख ५० हजार सङ्कलन भएको छ । “भोको पेट रहेकालाई खाना खुवाउनका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले आर्थिक सहयोग गर्नुहुन्छ, हामीहरुले त्यसको व्यवस्थापन मिलाएका छौँ”, श्रेष्ठले भन्नुभयो । व्यास नगरपालिका–२ मा उत्तरशीला टोल विकास संस्था र व्यास नगरपालिका–४ मा दरै समाजको भवनमा मजदुरलाई खानाको व्यवस्था गरिएको छ । ती दुई ठाउँमा बन्दाबन्दी खुलेको पाँच दिनसम्म पनि खाना खुवाउने व्यवस्था मिलाइनेछ । “बन्दाबन्दीले दैनिक मजदुरी गरेर छाक टार्नेलाई गाह्रो परेको अवस्था छ, त्यस्ता व्यक्तिलाई सहयोग गर्नु सबैको कर्तव्य हो”, श्रेष्ठले भन्नुभयो, “त्यस्ता व्यक्तिलाई खाना खान आउन आग्रह गरेका छौँ ।” दमौलीमा ज्याला मजदुरी गर्नेहरु नै खाना खान आउने गरेका छन् ।

दुई ठाउँमा गरेर दैनिक २०० सर्वसाधारणले खाना खाइरहेका छन् । एकान्तबासमा रहेकालाई घर पठाइयो तनहुँको विभिन्न स्थानीय तहमा एकान्तबासमा राखिएका २६ जनालाई घर पठाइएको छ । गत वैशाख ११ गतेदेखि जिल्लाका विभिन्न स्थानीय तहले बनाएका एकान्तबासमा रहेका उनीहरुलाई १४ दिन पूरा भएपछि बिहीबार घर पठाइएको हो । नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट आएका उनीहरुलाई स्वास्थ्य परीक्षणपछि घर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । भानु नगरपालिका–४ स्थित शान्ति निम्न माध्यमिक विद्यालयमा रहेका ११, व्यास नगरपालिका–४ स्थित मदर्शा आधारभूत विद्यालयमा रहेका १३, देवघाट गाउँपालिकामा रहेका दुईजनालाई घर पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । भानु नगरपालिकामा वैशाख ११ गते वीरगञ्ज, काठमाडौँ, बाँकेलगायतबाट आइपुगेका सर्वसाधारणलाई एकान्तबासमा राखिएको थियो ।

भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले एकान्तबासमा रहेकाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार एकान्तबासमा रहेका उनीहरुको आरडिटीसमेत परीक्षण गरिएको छ । अब भानु नगरपालिकाको एकान्तबासमा चारजना बाँकी छन् । उनीहरु सुर्खेत, काठमाडौँ र इटहरीबाट वैशाख १२ गतेपछि भानु आइपुगेका थिए । त्यस्तै व्यास नगरपालिका–४ स्थित मदर्शा आधारभूत विद्यालयमा रहेका १३ जनालाई पनि घर पठाइएको छ । उक्त एकान्तबासमा भारतबाट फर्किएकालाई राखिएकामा उनीहरुको अवस्था पनि सामान्य छ । उनीहरुको पनि आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार भानु नगरपालिकामा चार, शुक्लागण्डकी नगरपालिकामा पाँच, ऋषिङ गाउँपालिकामा तीनजना एकान्तबासमा छन् ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि विदेश तथा बाहिरी जिल्लाबाट आएकालाई निगरानी गर्नका लागि तनहुँ जिल्लामा १८१ शै्यया क्षमताको एकान्तबास बनाइएको छ । बन्दाबन्दी लम्बिँदै गएपछि नेपालका विभिन्न जिल्ला र भारतबाट घर आउने क्रम नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले कम्तीमा १४ दिन एकान्तबासमा बस्नुपर्ने निर्णय गरेको थियो । सोहीबमोजिम जिल्लामा आउनेलाई वैशाख ११ गतेदेखि एकान्तबासमा राख्न थालिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology