• Tuesday 28th of July 2026

कन्टेनरमा लुकी छिपी आएका ५० भारतीय नागरिक काभ्रेमा नियन्त्रण – लकडाउनको बेला कहाँ बाट कसले पठाए?


  • गोकर्णेश्वर अनलाइन

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ । सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन् । आज बिहान करिब ८ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गस्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो । ती नागरिकलाई जहाँबाट आएको त्यही फर्काउने वा अन्य कुनै सावधानी अपनाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रजिअ तिमल्सिनाले बताउनुभयो ।

“नियन्त्रित भारतीय नागरिकलाई जहाँबाट आएको उतै फर्काउने वा अन्य कुनै प्रक्रियमा जाने भन्नेबारे सम्बन्धित निकायसँग थप छलफल हुँदैछ, बिनासूचना यसरी मानिस ल्याएर छाड्न पाइँदैन”, तिमल्सिनाले भन्नुभयो । उहाँले ती नागरिकका बारेमा सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको बताउनुभयो । यसैबीच कोरोना भाइरसका कारण धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ स्थित राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको गत बिहीबार राति मृत्यु भएपछि काभ्रेपलाञ्चोकका अरनिको र बिपी राजमार्गमा थप कडाइ गरिएको छ । ती महिलाको कारोना भाइरसका कारण मृत्यु भएको शनिबार साँझ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो ।

स्वासप्रस्वासमा समस्या भएपछि उपचारार्थ गत बिहीबार राति ९ः३० बजे धुलिखेल अस्पताल आएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको केही समयपछि नै मृत्यु भएको थियो । मध्यपूर्वी पहाडबाट काठमाडौँ राजधानी जाने अरनिको र बिपी दुई प्रमुख राजमार्ग हुन् । बिपी राजमार्ग हुँदै तराई क्षेत्रबाट प्रवेश गर्ने सवारी जाँचका लागि रोशी गाउँपालिकाको मङ्गलटारमा चाँजचौकी राखी थप कडाइ गरिएको काभ्रेपलाञ्चोक प्रशासनले जनाएको छ । धुलिखेल अस्पतालमा भने मृतक महिलाको उपचारमा संलग्न चिकित्सक, नर्स तथा पारामेडिकललगायत गार्डसमेतको स्वाब सङ्कलन गरी अस्पतालको क्वारेन्टाइनमा राखी अस्पताल क्षेत्रमा थप उच्च सतर्कता अपनाइएको अस्पतालका प्रवक्ता एवं प्रसूति रोग विशेषज्ञ डा सुमनराज ताम्राकारले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक महिलाको शिशुसहित श्रीमान्, सासू र नन्दको कोरोना भाइरस सङ्क्रमण भए÷नभएको परीक्षण स्वाब सङ्कलन गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology