• Tuesday 28th of July 2026

लकडाउनमा पिकनिक मनाउने बढेः स्थानीयवासी त्रासमा


  • गोकर्णेश्वर अनलाइन

—दुर्गा देवकोटा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा लकडाउन (बन्दाबन्दी) जारी छ । तर यहाँका युवा यतिखेर पिकनिक मनाउन पहाडी क्षेत्रमा जान थालेका छन् । पहाडी क्षेत्रमा प्रहरीको निगरानीमा कमी र गर्मी छल्नसमेत सजिलो हुनेभएपछि कैलालीका तराई क्षेत्रबाट युवा पिकनिक खाने बहानामा पहाडी क्षेत्रमा जाँदा स्थानीयवासीमा भने त्रास सिर्जना भएको छ । लकडाउनमा मानिस घरभित्रै बस्नुपर्ने हो तर कैलालीका पहाडी जिल्लामा अहिले दैनिक पिकनिक खानेको भीड लाग्न थालेपछि स्थानीयवासीमा त्रास बढेको हो । कैलालीको मोहन्याल गाउँपालिकाका विभिन्न ठाउँमा बाहिरबाट गएका मानिसको भीडभाड बढेपछि स्थानीयवासी त्रसित भएका मोहन्याल–२ पण्डोनका नन्दराम भण्डारीले बताउनुभयो । “मोहन्याल गाउँपालिकाका राजकाँडा, काइजुवा, चोसेकाँडा, बजाडी, कटौजे, गर्भा दरबारलगायत ठाउँमा पिकनिक खाने, काफल खाने, घुम्ने भन्दै तराई क्षेत्रबाट मानिस भित्रिन थालेका छन्”, उहाँले भन्नुभयो, “यहाँका स्थानीयवासी कोरोना सङ्क्रमण फैलिन्छ कि भनी त्रसित भएका छन् ।”

यहाँ दैनिक २०÷२५ मोटरसाइकलसहित मानिसको भीडभाड बढेको छ । “तराईका शहरबाट युवा पहाडी गाउँ पसेपछि स्थानीयवासी डराएका हुन्”, भण्डारीले भन्नुभयो, “हाम्रो गाउँका मानिस जङ्गलसमेत जान डराएका छन् । पाकेको काफल टिप्न सकेका छैनन्, तर अन्य ठाउँका मानिसले जङ्गल भरिन थालेका छन् ।” मोहन्याल गाउँपालिकाको काइजुवाका डम्बर नाथ योगीले पनि गाउँमा बाहिरका मानिसको चहलपहल बढेपछि डर लागेको बताउनुभयो । “यस्तो विपत्तिको समयमा मानिस आफ्नो घर फर्कन थालेका छन्, तर यहाँ त कैलालीका अन्य स्थान र अन्य जिल्लाका मानिस भित्रिन थालेका छन्”, उहाँले भन्नुभयो, “दुई दिनअघि कञ्चनपुरका युवा पनि काफल खान भन्दै यहाँ पुगेका थिए ।” योगीले अपरिचित युवा गाउँमा रमाउन थालेपछि स्थानीयवासीलाई अनिवार्य काममा निस्कनसमेत जोखिम रहेको बताउनुभयो ।

“बाहिरका मानिसको चहलपहल गाउँमा बढ्न थालेपछि ती मानिस आउने बाटोमा प्रहरी प्रशासनले कडाइ गर्नुपर्छ”, मोहन्याल–३ सल्लेरीका मोहन वटालाले भन्नुभयो, “नभए पहाडी जिल्लामा जोखिम बढ्छ ।” स्थानीय पत्रकार रमेश सापकोटाले गाउँमा भीडभाड बढेपछि प्रहरीलाई खबर गरेको बताउनुभयो । “भीडभाड बढेकाले रोक्नु प¥यो भनी प्रहरी प्रशासनलाई खबर गरेका छौँ”, उहाँले भन्नुभयो, “दैनिक सयौँ नागरिक यहाँ पिकनिक खान, रमाउन आउन थाले, लकडाउनको समयमा यिनीहरु कसरी आइरहेका छन् ?” मोहन्याल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयानन्द जैशीले भीड बढेपछि गाउँपालिकाले पनि बाहिरबाट आउने व्यक्तिलाई रोक्ने प्रयास गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology