मध्यपुरथिमि नगरपालिकाकाले शिक्षा, स्वास्थ्य एवं संस्कृतिको विकासलाई मजबुद बनाउँदै लगेको दाबी गरेको छ । नगरपालिकामा आज आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले तीन वर्षको अवधिमा मध्यपुरथिमिको पुरानो र नयाँबस्तीको फरक ढङ्गले विकास गर्नुका साथै शिक्षा र स्वास्थ्यको विकास सँगसँगै अगाडि बढाएको जानकारी दिनुभयो । थिमिको पुरानो बस्तीलाई परम्परागतरुपमा विकास गर्दै पुराना घरको संरक्षण, यहाँ बन्ने नयाँ घर पुरानै परम्परागत शैलीमा निर्माण गर्न प्रोत्साहन, यहाँका जीर्ण मठमन्दिर, पाटीपौवा, विहार, ऐतिहासिक पोखरी, ढुङ्गेधाराको जीर्णोद्धार तथा पुनःनिर्माण गर्ने कार्य कतिपय सकिएका र कतिपय भइरहेका उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मूर्त र अमूर्त कलाको विकासलाई पूर्णता दिन नगरस्तरीय गुरुयोजना निर्माण गर्दै पुरानो बस्तीमा ढुङ्गा छपाइ गर्ने, सवारी साधन एवं पदमार्गको छुट्टाछुट्टै रुट बनाउने, पर्यटनको विकास गर्न शङ्खधर पार्कलगायतका विभिन्न पार्क निर्माण गर्ने, परम्परागत माटोको भाँडा निर्माण गर्ने कार्यलाई जीवित राख्दै प्रोत्साहन गर्ने, जीवित सङ्ग्रहालय निर्माण गर्ने जस्ता कार्यलाई अगाडि बढाएका छौँ ।”
उहाँका अनुसार जनप्रतिनिधि आएपछि वर्षौं रोकिएका लोपोन्मुख नाच प्रदर्शनमा आएका छन् । ४५ वर्षदेखि रोकिएको ऐतिहासिक एवं सांस्कृतिक पहिचान बोकेको भैल प्याखं, २३ वर्ष रोकिएको महाकाली प्याखं, १७ रोकिएको सलाचा प्याखंलगायतका सांस्कृतिक नाचले पुर्नजीवन पाएका छन् । नगरपालिकाले नयाँबस्ती विकासको अवधारणालाई मूर्तरुप दिँदै चालू चार वटासहित थप पाँच वटा जग्गा एकीकरण आयोजनालाई आफैँले सञ्चालन गर्नेगरी कार्यविधि तयार पारेको र मध्यपुरका अधिकांश सडकलाई ११ मिटरमा बिस्तार गरी कालोपत्र गरेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । जनप्रतिनिधि आएपछि नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयलाई समानान्तररुपमा सञ्चालन गर्दै ८ कक्षाको आधारभूत तहको परीक्षा निःशुल्क सञ्चालन गरेको, प्रमाणपत्र निःशुल्क वितरण गरेको, कक्षा १ देखि १२ सम्मको १० प्रतिशत छात्रवृत्तिमध्ये पाँच प्रतिशत नगरपालिकाले स्वामित्व ग्रहण गरी छात्रवृत्तिको परीक्षा सञ्चालन गरी वितरण गरेको छ ।
स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेको छ । नगरपालिकाले यस वर्ष छ जना नगरशिक्षा अधिकृत नियुक्ति गर्ने, विद्यालय गाभ्ने, नगर शिक्षा नीति लागू गर्ने भएको छ । नगरपालिकाले स्वास्थ्य क्षेत्रको विकासमा फड्को मारेको उहाँको दाबी छ । स्थानीय तहमध्ये आफ्नै अस्पताल भएको एकमात्र यस नगरपालिकाले सञ्चालन गरेको ७२ श्ययाको नेपाल कोरियामैत्री नगरपालिका अस्पताललाई आगामी दिनमा ३०० श्ययामा विस्तार गर्ने, नर्सिङ कलेज सञ्चालन गर्ने तयारी नगरपालिकाले गरेको छ । अस्पताललाई केन्द्रविन्दुमा राखेर छाता अवधारणाका रुपमा दुई शहरी स्वास्थ्य क्लिनिक, पाँच स्वाथ्य चौकी र एक आयुर्वेद औषधालय सञ्चालन गरिरहेकामा अर्को वर्षसम्ममा मिर्गौलाको बिरामीको डाइलोसिसदेखि सिटिस्क्यान सेवासम्म विस्तार गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो ।
नगरपालिका अस्पतालमा पाँच भेन्टिलेटरसहितको ११ वटा आइसोलेशन वार्ड, पाँच श्ययाको आइसियु वार्ड, डेडिकेटेड एक्रे मेसिन, कोरोना डेडिकेटेड एम्बुलेनससमेत तयारी अवस्थामा राखेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले कोरोना बिरामीको उपचार र अन्य बिरामीको उपचारदेखि शल्यक्रियासमेत गर्न सकिने गरी छुट्टाछुट्टै भवन तयारी अवस्थामा राखेको छ । नगरपालिकाले अस्पतालले कोरोना परीक्षणका लागि पिसिआर प्रयोगशाला सञ्चालन ल्याइसकेको छ । ललितपुर महानगरपालिकासंग सहकार्य त्यहाँका जनप्रतिनिधिको पनि कोरोना परीक्षणको तयारी भइरहेको छ । पत्रकार सम्मेलनमा उहाँले लकडाउन जारी रहँदा रोजगारी गुमाएका एवं असाहाय १० हजारभन्दा बढीलाई एक करोड ५० लाख बरावरको राहत वितरण गर्नुका साथै बिभिन्न निकायको समेत सहयोगमा सामुहिक मेस संचालन गरी एक लाख १६ हजार व्यक्तिलाई खाना खुवाएको बताउनुभयो ।
नगरपालिकाले खानेपानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको, मध्यपुरको प्रत्येकको घरमा खानेपानीको धारा पु-याउने गरी रु २१ करोडको ट्रंकलाइन विस्तार गर्दै पुराना पाइप परिवर्तन एवं नयाँ पाइप जडान कार्य अगाडि बढाउने तयारी गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शुशासन कायम गर्दै भ्रष्टाचारमुक्त नगर बनाउने मेरो प्रतिवद्धता रहेको छ । ”
