• Wednesday 29th of July 2026

चोयाको डोरीमा झुण्डिएर महको शिकार !


  • गोकर्णेश्वर अनलाइन

—तारानाथ आचार्य भिर मौरीको मह शिकार गर्ने बेला बागलुङको ताराखोला गाउँपालिका–५ मा पर्ने छेल्डर खोलाको महभिरमा मह उत्सव लाग्थ्यो । गाउँभिरका युवा जम्मा भएर अक्करे भिरमा रहेको मौरीको पोलामा भिरमुनिबाट आगो लगाउँथे । धुँवाले निसास्यिएका मौरी भागेपछि हेर्दै डरलाग्दा अक्करे भिरमा युवा झुण्डिन्थे र मह निकाल्थे । गाउँका बुढापाकादेखि केटाकटीसम्म जम्मा भएर मह काँडेको रोमाञ्चक दृश्य हेर्थे । भिरछेउमा पुगेका गाउँले सबैले भाग पाउँथे । कतिले त्यहीँ मह खाँदै रमाउँथे भने कतिले मह बोकेर घर फर्किन्थे । भिरमौरीको मह काढ्ने ताराखोलाको परम्परा नै हो । कोरोना कहरका कारण पहिलेका वर्षहरुमा जस्तो यो वर्ष मौरीभिरमा रौनक आएन । ताराखोलाका मगर जातिको परम्परा नै भएकाले भिरमौरीको मह यो वर्ष पनि काँडियो तर विगतमा जस्तो धेरै गाउँले जम्मा भएनन् । सामाजिक दूरी कायम गर्नुपर्ने, एक–अर्काबीच सचेत र सजग हुनुपर्ने भएकाले आवश्यक मान्छेहरुको समूहमात्रै भिरमा पुगेर मह काढ्ने काम शुरु भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो ।

वर्षौँदेखि आफ्नो पुख्र्याैली चलनका रूपमा ताराखोलावासीले ज्यानै दाउमा राखेर डरलाग्दो भिरबाट भिरमौरीको मह निकाल्दै आएका छन् । हरेक वर्ष जेठको अन्त्यतिर शुरु हुने यहाँको मह काढ्ने उत्सव यो वर्ष पनि शुरु भएको छ । मह काढ्न जानेहरू झण्डै ५०० मिटरभन्दा अग्लो भिरमा डोरीबाट निर्माण गरिएको भ¥याङको सहायताले भिरमा सिङ्गौरी खेल्दै मह निकाल्छन् । ताराखोलामा निङ्गालोको चोयाले बनाएको डोरीको सहयताले भिरमा जाने चलन छ । मौरीको टोकाइबाट बच्न शरीरमा बाक्लो कपडा, हातमा पञ्जा र अनुहारमा जाली लगाएर मह सिकारीहरू भिरमा पुगेपछि आगो बालेर मौरी धपाउँछन् अनि मौरीका चाकाहरू खसाल्छन् । मौरीका पोला खसालेर राख्ने अनि मह काढ्ने परम्परागत बाँसको चोयाका सामग्रीकै प्रयोग हुने गरेको छ । धार्मिक परम्परासँग समेत जोडिएको यहाँको भिरमैरीको मह काढ्नका लागि निश्चित प्रक्रिया पु¥याउनुपर्ने मान्यता रहेको अध्यक्ष घर्तीले बताउनुभयो । “भिरमा आगो लगाउनुपूर्व पूजाआजा हुन्छ, त्यहाँ जाने चोखो बस्नुपर्ने मदिरा खान नहुने मान्यता छ”, उहाँले भन्नुभयो, “यो सबै गर्दा चोटपटक लाग्दैन, सुरक्षित भइन्छ भन्ने मान्यता मगर समुदायमा छ ।”

भिरमा मौरीको घार रहेको आधारमा यहाँको शिकार कति दिन लम्ब्याउने भन्ने कुराको निर्धारण हुन्छ । यो वर्ष ताराखोलाका महभिरमा १६ घारको शिकार हुँदैछ । पाँच दिन लगाएर सबै घारको शिकार गर्ने योजना रहेको राताखोलाका स्थानीय महेन्द्र घर्तीले बताउनुभयो । हरेक वर्ष हुने यहाँको भिरमौरीको शिकारबाट १५० देखि २५० लिटरसम्म मह निकाल्ने गरिएको छ । गाउँले सबै जम्मा भएर बाँड्ने भएकाले व्यावसायिक खरिद बिक्री त हुँदैन तर बाँडेर घर लगेकाहरुले यहीँ मह बेचेर आम्दानीसमेत गर्ने गरेको अध्यक्ष घर्तीले बताउनुभयो । भिरमा सिकार खेल्न गएकाहरू कसैले भ¥याङ तयार पार्छन्, कोही खाना पकाउँछन्, कोही भिरमा चढ्छन् त कोहीले जमिनबाट डोरीको सहायतामा टोकरी तलमाथि गर्दै महका चाकाहरू जमिनसम्म झार्छन् । डोरीमा झुण्डिएर भिरमा बसेर चाका खसाल्ने काम गर्ने व्यक्तिलाई अरूको तुलनामा दोब्बर मात्रामा मह भाग लगाइन्छ भने अरू काम गर्नेहरूले समान परिमाणमा मह पाउँछन् ।

आफ्नो भागमा पर्ने महलाई उनीहरू एकै ठाउँमा बसेर परम्परागत रूपमै प्रशोधन गरेर सबैलाई बाँड्ने चलन ताराखोलामा छ । पहिले ताराखोलामा रहेका मगर समुदायको थरका आधारमा भिर बाँडिन्थ्यो । आ–आफ्नो भिर भागमा पर्नेहरुले मात्रै मह काँड्थे तर अहिले सबै मिलेर मह काँड्ने गरेको बुढापाकाहरु बताउँछन् । गाउँपालिकाले मह सिकारलाई सुरक्षित र व्यवस्थित बनाएर स्थानीयवासीको पुख्र्यौली पेसाको संरक्षण र पर्यटनसँग जोडेर पर्यटन विकास गर्ने रणनीति लिएको अध्यक्ष घर्तीले बताउनुभयो । “हनि हन्टिङमा धेरैको चासो छ, यो वर्षदेखि यसलाई पर्यटनसँग जोडेर महोत्सव चलाउने योजना थियो तर कोरोनाले प्रभावित भयो”, उहाँले भन्नुभयो, “आगामी दिनमा हामी थप व्यवस्थित गर्छौँ ।” भिरमौरीको मह औषधिका रूपमा प्रयोग हुने गरेको छ । जङ्गलमा बस्ने मौरीले जङ्गलमा नै पाइने विभिन्न जडीबुटीका फूलबाट रस लिने भएकाले भिरमौरीको महलाई घर मौरीको महभन्दा पनि बढी महत्वको मानिन्छ ।

शरीरको प्रतिरक्षा प्रणालीमा प्रत्यक्ष फाइदा दिनुका साथै शक्ति प्रदान गर्ने तत्वका रूपमा पनि भिर महलाई लिने गरिन्छ । भिरमौरीको मह गाउँबाट नै एक लिटरको झन्डै रु एक हजार ५०० मा बिक्री हुने गरेको भिर मह जिल्लाका बाहिरका बजारमा पठाउँदा भने अझै महङ्गो हुने गरेको छ । ताराखोलाका हिल अर्गललगायतका ठाउँमा समेत तीन वर्षको अन्तरमा भिरमौरीको महको शिकार हुने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology