• Wednesday 29th of July 2026

खुले पसल छैनन् ग्राहक


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ, ३० जेठ (रासस) : असन, इन्द्रचोक, न्यूरोड, वसन्तपुरलगायत काठमाडौँका भित्री क्षेत्रमा लगभग सबै पसल सञ्चालनमा आएका छन् । त्यहाँ पुग्दा लाग्छ बन्दाबन्दीको धेरै असर छैन, पूर्णरूपमा जनजीवन सहज भइसकेको छ । पसल पूर्ववत् खुलेका छन् । सावधानीमा ध्यान दिइएको छैन । सामान खरिद गर्न आएका उपभोक्ताले नै सावधानी अपनाएको देखिन्छ । मानिसको आवत जावत देख्दा अत्यावश्यक कामका लागि मात्र होइन समान्यरुपमा घुमफिरका लागि पनि बाहिर निस्केका छन् । कतिपयले त सामान्य मास्क पनि लगाएको देखिँदैनथ्यो । बन्दबन्दी जारी हुनुपूर्व अघि जस्तै गरी मानिसको आवत जावत छ । सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न झण्डै ८० दिनदेखि लागू गरेको बन्दाबन्दीको आदेशलाई बिहीबारदेखि केही खुकुलो बनाएसँगै भीडभाड बढेको हो । लामो समयदेखि कायम रहेको बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापसँगै सर्वसाधारणको जनजीवनमा नै असर परेकाले त्यसलाई सामान्य बनाउन बन्दाबन्दीलाई केही खुकुलो बनाइएको हो । जोखिमलाई मध्यनजर गरी कतिपय सेवामा लगाइएको प्रतिबन्धलाई अझै कायमै राखिएको छ ।

तर नागरिकले यस कुराको व्यवस्था गरी बिना प्रवाह सडकमा देखिन्छन् । यसले जोखिम बढाउने भन्दै पूर्णरूपमा सावधानी अपनाएर मात्र सञ्चालन गर्नुपर्ने सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाको भनाइ छ । उहाँका अनुसार नागरिकको जनजीवन सहज बनाउनका लागि बन्दाबन्दीलाई केही सहज बनाउन प्रयास गरिए पनि भाइरसको जोखिम अझै कम भएको छैन, हरेक दिन बढ्ने क्रम जारी छ, त्यसैले उच्च सावधानीको साथ मात्र व्यसाय सञ्चालन गर्न आवश्यक छ । भाइरस तत्काल नहट्ने र काठमाडौँ उपत्यकालाई थप सुुक्षित राख्ने हो भने बाहिरबाट आउने मानिसको आवागमनलाई पूर्णरूपमा रोक लगाउनुपर्ने र नागरिक आफैँ सचेत भई सावधानीपूर्णरूपमा बाहिर निस्कने अनावश्यकरूपमा नजाने जस्ता आधारभूत मापदण्डलाई पालना गर्नुपर्ने उहाँको भनाइ छ । सरकारले सवारी साधन सञ्चालनमा जोर, बिजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप पनि बढेको छ । त्रिपुरेश्वर, थापाथली, बानेश्वर, जमललगायतका ठाउँमा सवारी चाप अत्यधिक बढेको देखिन्छ । सरकारले सर्वसाधारणको बढी उपस्थिति हुने स्थान तथा सार्वजनिक सवारी सञ्चालनका हकमा भने हालकै अवस्थालाई कायम राखिएको छ ।

सञ्चालन हुने सेवा

गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार स्वास्थ्यसँग सम्बन्धित सबै सेवा, सबै प्रकारका कृषि तथा पशुपक्षी व्यवसाय, उद्योग व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्ट स्टोर, सबै प्रकारका ढुवानी, भौतिक दूरी कायम गर्दै भीडभाड नहुने गरी पैदल आवागमन, साइकल र मोटरसाइकल (एकजना मात्रै चढ्ने गरी) सञ्चालन गर्न पाइने छ । सरकारले मानिसको बढी भीडभाड हुने र सहभागिता बढी हुने क्षेत्रको हकमा भने हालको व्यवस्थालाई नै कायम गरेको छ । त्यस्तो सेवा सञ्चालन गर्न पाइने छैन । जसअनुसार शैक्षिक संस्था, अनुमतिप्राप्तबाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएका बाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन, सबै प्रकारका तालिम, सेमिनार, सभा, गोष्ठी र भेलालगागतका काम गर्न पाइने छैन ।

असार १ गतेदेखि सञ्चालन हुने सेवा

सरकाले आगामी असार १ गतेदेखि लागू हुने गरी केही सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । विभिन्न कार्यालयको सेवा भने दुई सिफ्टमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा असार १ गतेबाट मात्रै सञ्चालन हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology