• Wednesday 29th of July 2026

क्वारेन्टिनमा राखिएकी महिलामाथि सामूहिक बलात्कारका दोषीलाई कारवाही गर्न आग्रह


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रिय मानव अधिकार आयोगले लम्की चुहा नगरपालिका–१ स्थित शहीद स्मारक माध्यामिक विद्यालयको क्वारेन्टिनमा राखिएकी महिलामाथि सामूहिक बलात्कारका दोषीलाई कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सो घटनामा संलग्न दोषीलाई तत्काल कानूनी दायरामा ल्याई पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “क्वारेन्टिनमा यसप्रकारका घटना नदोहोरिने सुनिश्चितता गर्न, बलात्कृत भएको भनिएकी महिलाको शीघ्र स्वास्थ्य परीक्षण तथा पिसिआर परीक्षण गरी मनोसामाजिक विमर्श प्रदान गर्न, परिवारमा पुनःएकीकरण गर्न तथा उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्नसमेत आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँछ ।” आयोगले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिकाको पूर्ण कार्यान्वयन गर्न आयोग सरकारको पुनःध्यानाकर्षण गराएको छ ।

आयोगले घटनाको सम्बन्धमा नेपाल प्रहरीलाई विस्तृत जानकारी पठाउन पत्राचार गरेको छ । आयोगको धनगढीस्थित प्रदेश कार्यालयको टोली अनुगमनका लागि घटनास्थलतर्फ प्रस्थान गरेको छ । कोभिड–१९ को महामारीबाट बाँच्न आफ्नो थातथलो सम्झेर भारतबाट आई गत जेठ २० गतेदेखि क्वारेन्टिनमा बस्दै आएकी उनलाई यही जेठ ३१ गते राति बलात्कार भएको भनी आयोगमा जानकारी प्राप्त भएको छ । आयोगले यसअघि विश्व स्वास्थ्य सङ्गठनको क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी मापदण्ड लागू गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराएकामा सुधार नहुनु र राज्यका निकायबाटै सञ्चालित क्वारेन्टिनभित्रै यस्तो जघन्य अपराधको घटना हुनु अत्यन्त दुःखद् पक्ष भएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology