• Tuesday 28th of July 2026

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो


  • गोकर्णेश्वर अनलाइन

१८ असार (रासस÷सिन्ह्वा) : म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुगेको म्यानमारको सूचना मन्त्रालयले जानकारी दिएको छ । यसअघि सो पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको थियो । तर पछि पहिरो गएको स्थलबाट थप शवहरु निकालिएको छ । सूचना मन्त्रालयले बिहीबार बिहानको सो पहिरोमा परी ज्यान जानेको संख्या बढेर ११३ पुगेको जानकारी गराएको हो । कचिन राज्यको हपाकांत टाउनशिपस्थित गाउँमा रहेको जेड खानी क्षेत्रमा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे भिषण पहिरो आएको बताइएको थियो । पहिरो आइएको समयमा सो खानीमा ठूलो संख्याका कमदारहरुले काम गरिरहेका थिए ।

कैयौँ व्यक्ति काममा व्यस्त रहेको अवस्थामा पहिरो आएकोले उनीहरुलाई पुरेको आशङ्का गरिएको छ । सूचना मन्त्रालयले अहिले पनि सो क्षेत्रमा उद्धारको काम जारी नै रहेको बताएको छ । उद्धारकर्मीहरुले सो स्थलमा अरु पनि व्यक्तिहरु पुरिएको हुनसक्ने जनाएका छन् । प्रहरीले भने यस विषयमा थप जानकारी आउन बाँकी नै रहेको जनाएको छ । अधिकारीहरुले सन् २०१६ को नोभेम्बरमा पनि उक्त साइडमा ठूलो पहिरो आएको र यसमा परी ११६ व्यक्तिको मृत्यु भएको बताएका छन् । केही दिन यतादेखि सो क्षेत्रमा अविरल वर्षा भइरहेको छ । वर्षापछि आएको पहिरोमा सो गाउँका वासिन्दा पनि परेको अनुमान गरिएको छ । त्यस स्थानमा पहिरोमा परी कति जना मानिस पुरिएका छन् भन्ने बारेमा अझै पनि यकिन नभएको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology