• Thursday 30th of July 2026

सङ्कटमा अवसर देखेपछि…


  • गोकर्णेश्वर अनलाइन

बागलुङ, २२ असार (रासस) : बन्दाबन्दीले सुवास श्रेष्ठको सोचलाई रोकेन । व्यवसायमा अनुभवी उहाँले नयाँ जुक्ति रच्नुभयो । सङ्कटलाई अवसरमा बदल्नुभयो । बागलुङ नगरपालिका–२ का उहाँले रु ५० लाखको लगानीमा ‘ब्राउन आइज मार्ट’ खोलेर नयाँ व्यवसायमा हात हाल्नु भयो । उहाँको लगानीमा सञ्चालित ‘ब्राउन आइज पार्टी प्यालेस’, रेष्टुराँ, सिनेमा घर, जिमखाना र नृत्यशाला अहिले बन्द छन् । चल्तीका व्यवसाय कोरोनाका कारण एकाएक थलिएपछि उहाँले नयाँ योजना बुन्नुभयो । “पार्टी प्यालेस, रेष्टुराँदेखि मेरो सबै व्यवसाय अहिले ठप्प छ”, उहाँले भन्नुभयो, “बन्दाबन्दीले आर्थिकरुपमा समस्या हुन थालेपछि नयाँ उपाय निकालेँ ।” उहाँले घरायसी सामान जस्तो स्थितिमा पनि किनमेल हुने देखेर ‘मार्ट’ खोलेको प्रतिक्रिया दिनुभयो । अदालत रोडस्थित ‘मार्ट’मा खाद्यान्न, तरकारी, शृङ्गार, डेरीजन्य उत्पादनलगायत घरायसी सामग्री उपलब्ध छन् ।

“स्वदेशदेखि विदेशी ब्राण्डसम्मका सामान राखेका छौँ”, उहाँले भन्नुभयो, “बच्चाका खेलौना, उपहार पनि थप्ने योजना छ ।” उक्त ‘मार्ट’ बाग्लुङ बजारकै ठूलो रहेको उहाँको जिकिर छ । ‘मार्ट’ तीन हजार स्क्वायर फिटमा बनेको छ । चार जना कर्मचारी राखेर सेवा दिइरहेको उहाँले बताउनुभयो । आउँदा दिनमा ग्राहकको मागअनुसार घरघरमै सेवा पु¥याउने लक्ष्य लिइएको छ । पहिलेदेखि सञ्चालनमा रहेका व्यवसाय कहिले खुल्ने कुनै निधो नभए पनि श्रेष्ठ नयाँ व्यवसायको प्रवद्र्धनमा लाग्नुभएको छ । कोरोना सङ्कट मत्थर भएपछि सबै व्यवसाय पुरानै अवस्थामा फर्कने उहाँको विश्वास छ । “अरु व्यवसाय पनि विस्तारै खुल्दै जाला अहिलेलाई समयको मागअनुसार मार्टमा लगानी गरेँ”, उहाँले भन्नुभयो । उहाँले सामान किनबेच गर्दा आवश्यक सावधानीसहित भौतिक दूरी अपनाउने गरिएको बताउनुभयो । उमेरले बल्ल ३३ वर्ष टेके पनि आँट र मेहनत भयो भने उद्यमी बन्न उमेरले छेक्दैन भन्ने उदाहरण उहाँ बन्नुभएको छ ।

उहाँले सञ्चालन गर्नुभएका व्यवसायमा रु १२ करोड लगानी छ । विसं २०५७ तिर बागलुङमा नृत्य प्रशिक्षण केन्द्र खोलेर व्यवसाय शुरु गर्नुभएका उहाँले बागलुङ, म्याग्दी हुँदै पोखरासम्म व्यवसाय विस्तार गर्नुभएको छ । उहाँले गत वर्षमात्रै पोखरामा रु छ करोडमा ‘ब्राउन आइज पार्टी प्यालेस’ खोल्नुभएको थियो । बागलुङमा सोही नामको ‘पार्टी प्यालेस’ विगत चार वर्षदेखि सञ्चालित छ । दुई ‘पार्टी प्यालेस’सँगै अन्य व्यवसायमा गरी करिब ५० जनाले रोजगारी पाएका थिए । अहिले व्यवसाय बन्द हुँदा रोजगारी पनि गुमेको छ । उहाँलाई दिदी मीना, श्रीमती सनमसहित परिवारका सदस्यले व्यवसायमा सघाउने गरेका छन् ।

“ससुराली परिवारकोतर्फबाट पनि मलाई सहयोग छ”, उहाँले भन्नुभयो, “सबैको साथ र हौसलाले व्यवसाय चलेको छ ।” हालसम्म गरेका व्यवसायबाट आफू सन्तुष्ट रहेको उहाँको भनाइ छ । “जस्तोसुकै समस्यामा पनि म आत्तिन्न बरु जोखिम उठाएर अघि बढ्छु”, उहाँले भन्नुभयो । देशमै आत्मनिर्भर बन्ने सोच र उद्देश्यले व्यवसायमा होमिएको उहाम्को भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology