• Thursday 30th of July 2026

भोंजेगाउँका ११ घर पहिराको उच्च जोखिममा


  • गोकर्णेश्वर अनलाइन

पहाडी जिल्ला लमजुङको क्ह्वोलासोथर गाउँपालिका –७ स्थित भोंजेगाउँका ११ घर पहिराको उच्च जोखिममा छन् । बुधबारदेखि परेको अविरल वर्षाले आज बिहान पहिरो जान थालेपछि बस्तीका घर जोखिममा परेको वडा सचिव तक्मा विकले बताउनुभयो । उहाँका अनुसार भोंजेगाउँका गमबहादुर कामीको घरको पिंँढी र आँगन भत्किएको छ । सोही घरसँग जोडिएको गोमा विकको आँगन पनि भासिएको तथा उहाँको तल रहेको डल्ले कामीको घर पुरिने सम्भावना रहेको वडा सचिव विकको भनाइ छ ।

यसै गरी कालो सार्कीको घरको पिंँढी नै भासिएको छ । उनीहरुलगायत गाउँका अन्य घर उच्च जोखिममा रहेकाले अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ । गाउँमा भोंजे पहिराले जोखिममा पार्दै आए पनि यस वर्ष भने घरनिर नै पहिरो गएपछि थप चिन्तामा स्थानीयवासी छन् । विसं २०४६ देखि जान थालेको भोंजे पहिरो हालसम्म पनि निरन्तर गइरहेको छ । उहाँका अनुसार उक्त पहिरोभन्दा पनि अहिले गाउँको घरनेर नै पहिरो गएपछि समस्या आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology