• Saturday 25th of July 2026

टोखा नगरपालिकाद्वारा विपद् व्यवस्थापनलाई प्राथमिकता


  • गोकर्णेश्वर अनलाइन

टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकता राखेर आगामी वर्षको बजेट विनियोजन गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि रु एक अर्ब ५८ करोड ४१ लाख ७७ हजारको बजेट प्रस्तुत गर्दै कोरोना नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकता दिएको हो । नगरपालिकाले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ रु एक अर्ब ४४ करोड र कार्यालय सञ्चालनका लागि रु १४ करोड १५ लाख रहेको छ । नगरपालिकाले कोरोना नियन्त्रणका लागि रु दुई करोड र विपद् व्यवस्थापनका लागि रु एक करोड रुपैयाँ विनियोजन गरेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

“विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना नियन्त्रण र विभिन्न समयमा हुने विपद्लाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट सार्वजनिक गरेका हौँ”, उहाँले भन्नुभयो । यस्तै मर्मतसम्भारका लागि रु ९५ लाख, खेलकूद विकासका लागि रु ५० लाख, वन वातावरण तथा सरसफाइ कोषका लागि रु ४० लाख, स्वास्थ्य उपचारका लागि रु १५ लाख, संस्कृति संरक्षणका लागि रु २५ लाख, जनशक्ति विकासका लागि रु पाँच लाख, सार्वजनिक जग्गा संरक्षणका लागि रु १० लाख बजेट विनियोजन गरेको छ । यसैगरी नगर कृषिको विकासका लागि रु ५० लाख, महिला विकासका लागि रु ३० लाख, पशुसेवाका लागि रु ३० लाख, सहकारीका लागि रु ३० लाख विनियोजन गरेको उहाँले बताउनुभयो ।

नगरपालिकाले सङ्घ र प्रदेशबाट सञ्चालित आयोजनाको समपूरक बजेटका लागि रु आठ करोड, महानगर साझेदारी कार्यक्रमका लागि रु दुई करोड, आधारभूत परीक्षा सञ्चालन शुल्क रु १० लाख, नगरस्तरीय ६०÷४० योजना कार्यक्रमका लागि रु सात करोड विनियोजन गरेको हो । यसैगरी क्रमागत योजनाका लागि रु ४० करोड, सशर्त कार्यक्रमका लागि रु २१ करोड पाँच लाख, पर्यटन बोर्ड र सडक बोर्डका लागि रु २० लाख विनियोजन गरेको नगरपालिकाले जनाएको छ । टोखाले चालू नगरका विकासका आयोजनाका लागि रु दुई करोड २५ लाख विनियोजन गरेको हो । नगरपालिकामा प्रदेश सरकार र केन्द्रीय सरकारबाट रु १६ करोड ६१ लाख ९७ हजारको योजना निर्माण हुने भएको छ ।

नगरपालिकाले आगामी आवका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत रु चार करोड, प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु चार करोड, सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत रु चार करोड खर्च गर्न पाउनेछ । यस्तै गरिबसँग विश्वेश्वर कार्यक्रमअन्र्तगत रु सात लाख ७० हजार, समाजकल्याण कार्यक्रमअन्तर्गत रु आठ लाख र पिएलजीएसपी कार्यक्रमअन्तर्गत रु चार लाख खर्च गर्ने जनाएको छ । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले टोखाले कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन, सांस्कृतिक सम्पदाको संरक्षण, महिला, बालबालिका ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology