• Monday 27th of July 2026

कोरोनाविरुद्धको लडाईमा साथ दिएकोमा विपक्षीलाई धन्यवाद : केजरीवाल


  • गोकर्णेश्वर अनलाइन

नयाँदिल्ली, ३१ असार (रासस-एएनआई) : भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाविरुद्धको लडाईमा साथ दिएकोमा विपक्षीहरुलाई धन्यवाद दिनुभएको छ । बुधबार नयाँदिल्लीमा पत्रकारहरुसँग बोल्दै मुख्यमन्त्री केजरीवालले कोराना नियन्त्रणमा विपक्षी दलहरुको सहयोग अति महत्वपूर्ण भएको बताउनुभयो । “कोरोनविरुद्धको लडाईमा यदि सरकार एक्लै लड्ने निर्णय गरेको भए सरकार असफल हुन सक्थ्यो, हामीले यसमा केन्द्रीय सरकारसहित सबैलाई किन नसमेट्ने भन्ने सोच्यौँ र सबैलाई सहभागिता र सहयोगका लागि आह्वान गर्यौँ,” उहाँले भन्नुभयो । मुख्यमन्त्री केजरीवालले गैरसरकारी संस्था तथा समूहहरुले पनि कोरोना नियन्त्रणका लागि अफ्ठ्यारोमा परेकाहरुलाई धेरै सहयोग गरेको चर्चा गर्नुभयो ।

“कोरोनाविरुद्धको लडाईमा सबै पार्टीलाई सहयोगका लागि सरकारले आह्वान गरेको थियो, भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय काँग्रेसलगायतले राम्रोसँग सहयोग गरे, उनीहरु सबैलाई धेरै धेरै धन्यवाद छ,” उहाँले भन्नुभयो । कुनै कामहरु जानी नजानी गलत तरिकाले भइरहेका बेला विपक्षीहरुले औंल्याइदिने र सुधार गर्ने अवसर पाएको पनि उहाँले बताउनुभयो । आफूहरुले काम गर्दा सकेसम्म जनभावना, चाहना र आवश्यकता अनुसार गर्ने प्रयास गरिरहेको र नतिजा राम्रो आएको केजरीवालको भनाई छ । कोरोनाभाइरसका कारण दिल्लीमा कुल एक लाख १५ हजार ३४६ जना सङ्क्रमित भएकोमा १८ हजार ६६४ जना मात्रै अहिले सङ्क्रमित अवस्थामा रहेका छन् । त्यसैगरी अरु ९३ हजार २३६ जनाले कोरोनाभाइरसलाई जितेपनि तीन हजार ४४६ जनाले भने जित्न नसकेर जीवन गुमाएको मुख्यमन्त्री केजरीवालले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology