• Saturday 25th of July 2026

नाष्टबाट नवप्रवत्र्तन प्रवद्र्धन गर्न ३३ प्रस्तावलाई अनुदान


  • गोकर्णेश्वर अनलाइन

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) मार्फत मुलुकका ३३ व्यक्ति वा संस्थाले अनुदान प्राप्त गरेका छन् । ‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवत्र्तन’ भन्ने सोचलाई बढावा दिन नाष्टले पहिलो पटक सरकारीस्तरबाट उक्त रकम सहयोग गरेको हो । नाष्टले ‘समृद्धिका लागि नवप्रवत्र्तन’ र ‘कोभिड–१९ प्रतिरोधात्मक प्रविधि विकास’ नामक दुई कार्यक्रमलाई प्रभावकारी बनाउन करीब रु दुई करोड २० लाखको अनुदान सहयोग गरेको छ । नवप्रवत्र्तन शीर्षकमा १६२ व्यक्तिले प्रस्ताव पेश गरेका थिए । यसमा २६ जनाको अन्तर्वार्ता लिएर १३ जनालाई अनुदान प्रदान गरिएको नाष्टका प्रविधि सङ्काय प्रमुख डा रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ प्रविधि विकासमा ११८ जनाको प्रस्ताव आएको थियो ।

यसमा हामीले ३१ जनाको अन्तर्वार्ता लिएर २० जनालाई अनुदान प्रदान गरेका छौं ।” सो अनुदान रकम भने गत आव २०७६÷७७ को बजेटको कार्यक्रममा रहेको ढकालले जानकारी दिनुभयो । उक्त कार्यक्रमको कार्यविधि निर्माण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नाष्ट, काठमाडौँ र त्रिभुवन विश्वविद्यालय आदिको सहकार्य थियो । नयाँ सोचलाई उत्पादनमा रुपान्तरण गर्न, नवप्रवत्र्तनलाई संरक्षण तथा उद्योगसँग जोड्न, नवप्रवत्र्तकलाई अघि बढाउने माध्यम चयन गर्न र समाजमा विज्ञान क्षेत्रप्रति के कस्ता कार्य भइरहेका छन् भन्नेबारे जानकारी हासिल गर्न उक्त कार्यक्रमले निकै सहयोग गर्ने नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले मुलुकमा पहिलो पटक अघि बढाएको यस कार्यक्रममा नवप्रवत्र्तनको माध्यमले उखु पेल्ने मेसिनलाई स्वचालित बनाउने प्रविधि विकास, कपालजन्य फोहरलाई मलमा रुपान्तरण गर्ने प्रविधिमा जोड, कुहिने वस्तुबाट मलखाद बनाउने , घरेलु कीरालाई औद्योगिक रुपमा पोषण एवं दानामा प्रयोग गर्ने र विभिन्न थरिका अण्डा कोरल्ने स्मार्ट प्रविधिको विकास गरिनेलगायत प्रस्तावलाई छनोट गरिएको छ । यसैगरी कोभिड–१९ विषयतर्फ भने पिसिआर र आरडिटी प्रविधि निर्माणमा जोड, कोभिड–१९ क्षेत्रमा निर्णय गर्न आवश्यक तथ्याङ्क सङ्कलनका लागि उचित व्यवस्था, कोभिड–१९ परीक्षण प्रभावकारी बनाउन दायरा विकास र थर्माेग्राफी क्यामेराद्वारा समूहमा तापक्रम मापनसहित सफ्ट्वेयरमा प्रयोग, फोहरपानी र ढलमा बगेर आउने कोरोनाको परीक्षण गरी समुदायलाई सचेत बनाउने, कृषि तथा ऊर्जाको विकास, खाद्यान्न प्रशोधन, कुखुरा भुत्ल्याउने तथा काठ चिर्ने प्रविधि विकास जस्ता प्रस्तावलाई वृत्ति प्रदान गरिएको छ ।”

नाष्टले मुलुकका केही विज्ञसँग छलफल गरेर सो कार्यक्रम समाजमा प्रभावकारी रहने ठहर गरेसँगै आफूहरु यसमा लागिपरेको ढुङ्गेलले जानकारी दिनुभयो । उक्त कार्यक्रममा दुई थरिका व्यक्तिलाई अनुदान प्रदान गरिएको छ । यसमा सामान्य अध्ययन गरेकादेखि उच्च शिक्षा हासिल गरेका मानिसले अनुदान प्राप्त गरेको नाष्टका प्रविधि सङ्काय प्रशासन अधिकृत दीपेन्द्रराम भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नवप्रवत्र्तन र कोभिड–१९ का क्षेत्रमा केही गर्छु भन्ने इच्छुक व्यक्तिलाई रु ६ हजार ७०० देखि रु १० लाखसम्मको रकम सहयोग गरेका छौं ।यसमा कूल रकममध्ये नवप्रवत्र्तनतर्फ रु ९६ लाख र बाँकी रहेको अन्य रकम भने कोभिड–१९ तर्फ प्रदान गरिएको छ ।”

नाष्टले बिहीबार मात्र यी विभिन्न कार्यक्रममा लागिपरेका व्यक्तिलाई रकम सहयोग गरेको भण्डारीले जानकारी दिनुभयो । नाष्टले उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन अनुगमन समिति बनाएर प्रस्तुतीकरण गर्ने, उक्त कार्यक्रममा लागिपरेका व्यक्ति वा संस्थाले यन्त्र वा सैद्धान्तिक समस्या भोग्नुपरेमा पनि त्यसको निराकरण गर्न सकेसम्म सहयोग गर्ने वातावरण निर्माण गर्ने र नवप्रवत्र्तनका क्षेत्रमा नयाँ ज्ञान भएका व्यक्तिलाई आउँदा वर्षमा पनि यसैगरी रकम सहयोग गर्ने उद्देश्य रहेको डा ढकालले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology