• Tuesday 28th of July 2026

विश्वमा बालबालिका हेरचाहको अवस्था नाजुक रहेको युुनिसेफको भनाई


  • गोकर्णेश्वर अनलाइन

७ साउन (रासस÷सिन्ह्वा) : संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वमा बालबालिकाको हेरचाहको अवस्था नाजुक बन्दै गएको बताएको छ । विश्वमा जारी रहेको कोरोना भाइरसको संकटका कारण यस्तो अवस्था रहेको मंगलबार युनिसेफले जनाएको हो । बालबालिकाले प्रारम्भिक शिक्षा लिने र उनीहरुको राम्रो हेरचाह र रेखदेख गर्नुपर्ने अवस्थामा ह्रास आएको युनिसेफको भनाई छ । प्राप्त समाचारअनुसार संयुक्त राष्ट्रसंघले नै हालैमात्र विश्वका कम्तीमा पनि ४ करोड बालबालिकाले प्रारम्भिक शिक्षा लिने, विद्यालय जाने र खेल्ने लगायतको वातावरण नपाएको अथवा यस्ता कार्यबाट बालबालिका बञ्चित हुन पुगेका उक्त प्रतिवेदनमा जनाइएको थियो ।

कोभिड १९ का कारण बालबालिकाले खेल्ने र विद्यालय या मन्टेश्वरी जान पनि नपाएकाले गर्दा विश्वमा बालबालिकाको हेरचाहको अवस्थामा पनि ह्रास आएको सो प्रतिवेदनमा जनाइएको थियो । बालबालिकाले पाउने यो सेवाका लागि बाल स्याहार केन्द्र या प्राथमिक विद्यालहरु पनि बन्द रहेकोले यस्तो अवस्था आएको युनिसेफले जनाएको हो । विश्वका कैयौँ देशमा फैलिएको यो महामारीका कारण लकडाउन गर्नु परेकोले उनीहरुका आमाबुबाहरु पनि समस्यामा परेका, कतिपयले आफ्नो रोजगारी पनि गुमाउनु परेकोले गर्दा पनि उनीहरुले आफ्ना नानीबाबुहरुलाई हेरचाह गर्न सक्ने अवस्था नरहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

युुनिसेफको सो प्रतिवेदनमा मध्य तथा निम्न आय भएका विश्वका ५४ देशका बालबालिका विशेषगरी यस्तो समस्यमा परेका बताइएको छ । ती देशका तीन देखि पाँच वर्षको उमेरका बालबालिका यस्तो समस्यामा परेका मंगलबार युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ । खासगरी अफ्रिकाका ९० प्रतिशत र एसियाका ७० प्रतिशत महिलाहरु अनौपचारिक क्षेत्रको रोजगारीमा रहेका र उनीहरुले अरु देशका महिलाले भन्दा बढी आफ्ना बालबालिकाको हेरचाह गर्न नपाएका पनि सो समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology