• Friday 31st of July 2026

बाढीका त्रासमा महातनिया गाउँवासी रातभर जाग्राम


  • गोकर्णेश्वर अनलाइन

भारतले दशगजामा एकतर्फी बनाएको बाँध कारण बर्सेनी डुबानमा पर्दै आएका महातनियावासी वर्षायाम लागेसँगै बाढीको त्रासमा रातभर जाग्राम बस्न बाध्य छन् । बाँकेको नरैनापुर गाउँपालिका–१ महातनिया गाउँवासी राप्ती नदीमा बाढी आएसँगै रातभरि जाग्राम बस्नुपरेको गुनासो गर्छन् । खरले छाएका घरहरु कुनै ओभानो छैनन् । हरेकका घरमा पानी जमेका छन् । त्यहीँ पर भारतले नेपाली भूमि च्यापेर बाँधजस्तो सडक बनाएको छ । त्यहीँ सडक प्रयोग गरेर गाउँलेहरु किनमेल गर्न भारत पुग्छन् । तर बर्खामा त्यही सडकको पानी गाउँमा पुगेर डुबानमा पर्छन् । वर्षायाममा “घर कहिले ओभानो हुँदैन । डुबानमै मर्ने भयौँ”, घर वरिपरि भरिएको पानीले आजित बनेका नरैनापुर गाउँपालिका–१ महातनिया गाउँका शङ्कर धोबीले भन्नुभयो, “विकास आयो तर गाउँसम्म पुग्न सकेन ।”

“छत हुने छतमा बस्छन्, ओत नहुने घरमै हुन्छौँ”, सीमावर्ती गाउँ घोरदौरिया–४ का शिव धोबीले भन्नुभयो, “घर छोडेर जङ्गल पस्न पनि समस्या छ ।” जङ्गलमा पनि पानी पस्ने गर्छ । पानी आएपछि घोरदौरियामा ३०० घरमा भेल पस्ने गर्दछ । नरैनापुर गाउँपालिका–६ समीम अन्सारीले २०७२÷७३ मा बाढी आउँदा तीन दिन घरमा पानी भरियो । पानीको निकास थिएन । तीन दिन भोकै बसेको पीडा सुनाउनुभयो । उनलाई बाढी आयो भने जङ्गलमा पनि बास नपाइएला भन्ने चिन्ता छ । भएको पाँच कट्ठा जमीन राप्ती नदीमा छेउमा छ । हरेक वर्ष कटानले जमीन लगेपछि उनलाई नौ जनाको परिवारलाई हातमुख जोर्न समस्या हुने गर्दछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology